भ्रष्टाचारमा मुछिएको कम्पनीसँग साल्ट ट्रेडिङ्गको कागज व्यापार

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले कागजको व्यापारमा निजी क्षेत्रको एक कम्पनीको हित हुनेगरी कारोबार गरेको देखिएको छ । खाद्यान्न, नुन र मलखाद समेतको आपूर्ति गर्ने निकाय साल्ट ट्रेडिङ्गको साधन स्रोत र जनशक्ति समेत सो व्यापारिक कम्पनीको स्वार्थ पूरा हुनेगरी उपयोग गर्न खुल्लमखुल्ला छुट दिएको साल्ट ट्रेडिङ्गकै अधिकारीहरुको भनाईबाट प्रष्ट हुन्छ ।

साल्ट ट्रेडिङ्गले न्यूजप्रिन्ट लगायतका छपाईसँग सम्बन्धित अन्य कागज विदेशबाट ल्याएर नेपाली बजारमा बिक्री गर्दै आएको छ । नेपाली बजारमा निजी क्षेत्रका व्यवसायी संगठित रुपमै यो व्यवसायमा क्रियाशील देखिन्छन् । सबैले आआफ्ना सम्पर्क अनुसार कागज आयात गरेर बिक्री गर्दैआएका छन् । साल्ट ट्रेडिङ्ग भने आधिकारिक निकाय भएकाले उसले सरकारले दिने विभिन्न सुविधाको उपयोग गर्दै कागज लगायतका वस्तुको व्यापार गर्दै आएको छ ।

कागजको हकमा भने साल्ट ट्रेडिङ्ग निजी क्षेत्रको कम्पनी प्रिन्टसेलसँग सोझै बिना प्रतिष्पर्धा र टेण्डर समेत नगरी कागजको व्यापार कारोबार गर्दै आएको छ ।

साल्ट ट्रेडिङ्गकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ प्रिन्टसेलसँग कारोबार गरेको स्वीकार्दै साल्ट ट्रेडिङ्ग फरक प्रकृतिको निकाय भएकाले टेण्डर कोटेशन र प्रतिष्पर्धा गराउन आफूहरु वाध्य नभएको बताउँछिन् । जसले कागज ल्याउने र नेपाली बजारमा बिक्री गरेर समयमै भुक्तानी गर्ने सुनिश्चितता गर्छ उसैसँग कारोबार गर्न सहज भएको उनको भनाई छ ।

साल्ट ट्रेडिङ्गमा प्रमुख कार्यकारी र लेखा प्रमुख सहित अन्य केही कर्मचारीको निर्णय नै अन्तिम हुने गरेकाले शेयरहोल्डरहरुलाई यसबारेमा जानकारी नै नहुने प्रवृत्ति देखिएको छ ।

सरकारको उद्योग मन्त्रालय, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग वाणिज्य महासंघ र अन्य विभिन्न निकायको साल्ट ट्रेडिङ्गमा शेयर रहेको छ । तर यहाँ हुने निर्णयहरुबारे उनीहरु प्राय अनभिज्ञ रहने गरेका छन् । एकजना शेयरहोल्डर राजेश श्रेष्ठले कहिलकाहीँ व्यवस्थापन समितिको बैठकमा निमन्त्रणा आए पनि अरु बेला हुने निर्णय प्रक्रियामा आफूहरुलाई कुनै जानकारी नहुने बताए ।

साल्ट ट्रेडिङ्गले सिंगापुरबाट फुजिटो नाम गरेको कम्पनीबाट कागज खरिद गर्ने गरेको छ । फुजिटोले पठाएको कागज साल्ट ट्रेडिङ्गमा आउँछ र उसकै गोदाममा आवश्यकता अनुसार भण्डारण भएर बस्छ । त्यसपछि प्रिन्टसेलले उसको अनुकूलता र आवश्यकता अनुसार, त्यो कागज साल्ट ट्रेडिङ्गकै गोदामबाट बिक्री गर्ने गर्दछ । यहाँ उल्लेखनिय पक्ष के हो भने, सिंगापुरको फुजिटो र नेपालको प्रिन्टसेल एकाघरका दाजुभाईको व्यापारिक कम्पनी हुन् । सिंगापुरबाट दाजुले पठाएको कागज नेपालमा भाईले बिक्री गर्छन्, दुवैजनालाई यो करोडौंको व्यापार गर्न साल्ट ट्रेडिङ्गले आफ्नो गोदाम, सरकारी छुटहरु र जनशक्ति सित्तैंमा उपलव्ध गराउँदै आएको छ । न उनीहरुले गोदामको भाडा तिर्नुपरेको छ न त अरु कुनै सेवा लिए वापतको शुल्क नै बुझाउनु परेको छ ।

किन हुन्छ यस्तो

यसबारेमा साल्ट ट्रेडिङ्गका सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई ‘सामान समयमै ल्याउने र बिक्री गर्ने सुनिश्चितता दिएकाले प्रिन्टसेलसँग यसरी कारोबार गरेको’ बताउँछन् । यहाँका अरु कागज व्यवसायीसँग कारोबार गर्दा भुक्तानीको समस्या भैरहने भएकाले वाध्य भएर प्रिन्टसेलसँग कारोबार गरेको भट्टराईको भनाई छ । साल्ट ट्रेडिङ्ग सिंगापुरको फुजिटो कम्पनीको सोल एजेन्ट हो ।

साल्ट ट्रेडिङ्गले कुनैबेला भारत र बंगलादेशका कागज कम्पनीबाट कागज आयात गथ्र्यो भने अहिले दक्षिण कोरियाको जोंग्सु पेपर मिल्सले उत्पादन गरेको कागज सिंगापुरको फुजिटोसँग वार्षिक १५ हजार टन खरिद गरिरहेको भट्टराई बताउँछन् ।

निजी क्षेत्रका अरु कागज व्यावसायी एउटा व्यापारीको स्वार्थ पूरा हुनेगरी साल्ट ट्रेडिङ्गले नेपाली करदाताले तिरेको करको समेत दुरुपयोग हुनेगरी आफ्नो साधन स्रोत र जनशक्तिको उपयोग गर्र्ने छुट दिएकोमा रुस्ट देखिन्छन् । नेपाल कागज व्यापार संघका एक पदाधिकारीले सयौं अरु व्यवसायीलाई उपेक्षा गरेर साल्ट ट्रेडिङ्गको व्यवस्थापनले आफ्नो समेत स्वार्थ पूरा हुनेगरी संस्थाको गोदाम, मूल्य, भन्सार र जनशक्तिको दुरुपयोग गरिरहेको आरोप लाउँछन् ।

सिंगापुरमा कागज खरिद गर्दा नै आफ्नो भागमा पर्ने कमिशनको बन्दोवस्त गरेपछि काठमाडौंमा आएको कागज जहिलेसम्म गोदाममा राखेपनि साल्ट ट्रेडिङ्गका उच्च पदस्थ कर्मचारीलाई कुनै फरक नपर्ने एक शेयरहोल्डर बताउँछन् । बजार मूल्यभन्दा साढे पाँच करोड बढी तिरेर आएको कागजमा ठूलो कमिसन हात पर्ने भएपछि अरु कम्पनीसँग कारोबार नगरे पनि फरक नपर्ने ती शेयर होल्डरको टिप्पणी छ । यसरी एकमात्र कम्पनीसँग भर परेको साल्ट ट्रेडिङ्गले त्यहाँका उच्च पदस्थ कर्मचारीको मनपरीले गर्दा कुनै बेला जनक शिक्षा सामग्री केन्द्रलाई समयमा कागज उपलव्ध गराउन नसक्दा विलम्व शुल्क समेत भरेको थियो ।

यस्तो मनोमानी चलिरहँदा पनि साल्ट ट्रेडिङ्गको नियमित कामकार्वाहीमा कतैबाट पनि अनुगमन हुनेगरेको देखिँदैन ।

सरकारकै सुरक्षण मुद्रण केन्द्रको परामर्शदाता र उपकरण सप्लायर्स रहेको हैसियतमा साल्ट ट्रेडिङ्गसँग कागज व्यापार गरिरहेको कम्पनी प्रिन्टसेल विरुध्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ । यस्तो गम्भीर अभियोग लागेको कम्पनीसँग व्यापार कारोबार जारी राख्न हुन्छ कि हुँदैन भन्ने बारेमा पनि साल्ट ट्रेडिङ्गको नेतृत्व प्रष्ट छैन । प्रिन्टसेलमाथि भ्रष्टाचारको मुद्दा लागेको बारे आफूलाई कुनै जानकारी नभएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताईन् ।

प्रतिक्रिया