स्थलगत रिपोर्ट

भक्तपुरको नलिनचोकमा संसारकै दूर्लभ हेलिपोर्ट

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० स्थित हेलिपोर्ट ‘संसारकै दूर्लभ हेलिपोर्ट’ मान्न सकिन्छ भन्छन् हवाई सुरक्षाविज्ञहरु । काठमाडौंबाट धुलिखेल जाँदा भक्तपुरको नलिनचोक कट्नेबित्तिकै उत्तरतर्फ पर्छ यो हेलिपोर्ट, जहाँ आधा दर्जन जति हेलिकोप्टर उड्दैबस्दै गरेको देख्न सकिन्छ । राजमार्ग नजिकै निर्माणाधीन यो हेलिपोर्टमा अत्यावश्यक पूर्वाधार बन्न बाँकी नै भएपनि उडान र अवतरण सुरु भएको छ । तर पाइलटहरुले यहाँ देखेका खतराहरुसँग जोरी खोज्न आँट गरेका छैनन्, त्यसैले उनीहरुले सम्बन्धित निकायको लिखितमै ध्यानाकर्षण गराएका छन् ।

किन यहाँ हेलिपोर्ट

heliport 11

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र वरपर विस्तारको काम भैरहेकाले स्थान अभाव भएपछि हेलिकोप्टर जतिलाई अलग्गै राख्न आवश्यक ठानियो । नागरिक उड्डन प्राधिकरण (क्यान) ले नलिनचोकमा रहेको ३३ रोपनी सरकारी जमिनको सदुपयोग पनि हुने निष्कर्ष निकालेपछि त्यहाँ करिब २५ करोड लगानीमा हेलिपोर्ट निर्माण गरियो । हेलिपोर्टको आधार त निर्माण गरियो तर सञ्चालनमा रहेको विमानस्थल सरहको सुरक्षा सहितका अरु पूर्वाधान भने प्रवन्ध हुन बाँकी छँदै दवावमा हेलिकोप्टरहरु त्यहाँ पठाईए ।

क्यानको कडा निर्देशन पाएपछि निजी क्षेत्रले सञ्चालन गरेका हेलिकोप्टर कम्पनीहरु कुनै आनाकानी नगरी खुरुखुरु नलिनचोक सरे र उडाउन थाले । क्यानले कान समात्ने भयले ती कम्पनीहरु जोखिमसँग पौंठेजोरी खेल्न विवश भएको नलिनचोक हेलिपोर्टमा पुग्दा प्रष्ट देख्न सकिन्छ । कैलाश, सिम्रिक, एयर डाइनास्टी, अल्टिच्युट,  प्रभू, हेलि एभरेस्ट, फिस्टेल, मनाङ, श्री, माउण्टेन, अन्नपूर्ण   जस्ता हेलिकोप्टर कम्पनीहरुले सुरक्षासँग सम्बन्धित अति संवेदनशील चुनौति सामना गर्नुपरे पनि क्यानसँग प्रत्यक्ष सिकायत गरेका थिएनन् । तर स्थानीयको विरोध र अनगिन्ती जोखिमको भय प्रत्यक्ष देखिसकेपछि भने ४७ जना पाईलटहरुले क्यानको लिखित रुपमै ध्यानाकर्षण गराएका छन् ।

क्यानलाई बुझाएको ध्यानाकर्षण पत्रमा पाईलटहरुले विभिन्न समस्या पनि उल्लेख गरेका छन् । पोर्ट वरिपरी उच्च भूभाग र अवरोधहरु रहेको, टावर नबनेको, फाइनल एप्रोच टेकअफ प्वाइन्ट अत्यन्त साँगुरो रहेको, पार्किङ एरिया सानो, इन्धन भर्ने ठाउँको अभाव, आपतकालिन सेवा नभएको, स्थान अभावका कारण अवतरण गर्दा आइपर्ने आकस्मिक जोखिम तर्फ पनि उनीहरुले क्यानको ध्यानाकर्षण गराएका छन् । यस्तो अवस्थामा नलिनचोक हेलिपोर्ट प्रयोग गरिरहनु जोखिमपूर्ण हुने भएकाले पर्याप्त सुरक्षा लगायतका प्रवन्ध नहुन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान सेवा सञ्चालन गर्न क्यानसँग माग गरेका छन् ।

के के छन् चुनौति

heliport 09

नलिनचोक हेलिपोर्ट भौगोलिक रुपमा खोंच जमिनमा अवस्थित छ । पूर्व, उत्तर र दक्षिण तर्फ उच्च भूभाग छन् भने पश्चिमतिरबाट मात्र अवतरण गर्न सकिने भएकाले अहिले त्यतैबाट हेलिकोप्टरहरु अवतरण गरिरहेका छन् । उड्दा पनि पोर्टबाट अलिकति पनि अगाडि गुडेर जाने ठाउँ छैन तसर्थ सिधै भर्टिकल उडान गर्नुपरेको पाइलटहरु बताउँछन् । यसरी उड्दा जतिबेला पनि अप्रिय घटना हुनसक्ने चिन्ता उनीहरुमा पाईन्छ । 

अर्कातिर पोर्टको वरिपरी बाक्लो बसोबास छ । गाउँ जाने व्यस्त बाटोसँगै जोडिएको छ पोर्ट भने करिब २५ मिटरको दूरीमा जोरपाटी माध्यमिक विद्यालय छ । त्यसबाहेक पोर्ट वरिपरी निजी र सामुदायिक विद्यालयमा करिब १५ सय विद्यार्थी अध्ययन गर्छन् । हेलिकोप्टरको आवागमनबाट उत्पन्न हुने चर्को ध्वनीले पठनपाठनमा प्रत्यक्ष असर परिरहेको विद्यार्थी र शिक्षकहरुले सुनाए । वृध्द मानिसहरुको श्रवण शक्तिमा पनि ध्वनी प्रदुषणले नकारात्मक असर परिरहेको स्थानीयको अनुभव छ । 

यी त भए स्थानीय बस्तीमा परेका समस्या र चुनौतिहरु । यसबाहेक सुरक्षा, प्राविधिक र इन्धन आपूर्तिका समस्या भने निकै जटिल लाग्दछन् । 

टावरबिनाको हेलिपोर्ट

heliport 08

हवाई सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण मानिने सञ्चार प्रणाली नै कामचलाउको अवस्थामा देखिन्छ । नलिनचोक हेलिपोर्टमा टावर बनेकै छैन, वाकीटकीले त्रिभुवन विमानस्थलको टावरसँग समन्वय गरेर कामचलाउनुपरेको प्राविधिकहरुको भनाई छ ।

विमानस्थल जत्तिकै संवेदनशील स्थानमा सुरक्षा प्रवन्ध यति फितलो छ कि एकजना नेपाल प्रहरीका जवानले सम्पूर्ण जिम्मेवारी सम्हालिरहेको देखिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा लामो समय काम गरिसकेका एक अधिकृतका अनुसार, पूर्वबाट आउने आन्तरिक उडानका विमानहरुलाई समेत उपत्यका प्रवेशपछि अतिरिक्त दवाव परेको छ । ‘शहरको बीचमा त्यसमा पनि बाक्लो वस्तीमा यसरी हेलिपोर्ट सञ्चालन गर्नु भनेको आगोसँग जिस्किनु जस्तै हो’ ती अधिकृतले भने ।

हेलिपोर्टमा दमकल छैन, राजमार्गबाट प्रवेश गर्ने बाटो नै सानो छ । आपतकालिन सेवाका कुनैपनि सन्यन्त्रको त्यहाँ अभाव छ । त्रिभुवन विमानस्थलबाट खटिएका कर्मचारी निमेष थापाले पूर्वाधारको अभाव रहेको स्वीकार्दै सबै निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । उनले हेलिपोर्टको सञ्चालनबाट विद्यालय र स्थानीयलाई मर्का परेको गुनासो आईरहेको बताए । 

अर्को उल्लेखनीय पक्ष के हो भने हेलिकोप्टरका लागि चाहिने इन्धन भर्ने त्यहाँ कुनै व्यवस्था छैन । नेपाल आयल निगमले पनि इन्धन डिपो बनाएको छैन । हेलिकोप्टर कम्पनीहरुले जर्किनमा भरेर आफैं इन्धन लगेर भर्ने गरेका छन् । यो सबैभन्दा खतरनाक कार्य भएको एक अनुभवी हवाई विज्ञले बताए । अति प्रज्जवलनशील पदार्थ यसरी ओसारपसार गर्दा कुनै पनि बेला दुर्घटना हुनसक्ने उनको भनाई छ ।

यी तमाम समस्याहरु सामना गरिरहेका पाइलटहरुले पनि आआफ्ना कम्पनीहरुलाई अवगत गराईसकेका छन् । चारवटा भन्दा बढी हेलिकोप्टर अवतरण गर्न पर्याप्त ठाउँ नभएको भनेर पाईलटहरुको सिकायत आए पनि अहिले ८ वटासम्म बस्ने गरेका छन् । ठाउँकै अभावले गर्दा अवतरण गरिसकेपछि मानिसले धकेलेर पार्किङमा लैजाने गरिएको छ ।

के भन्छन् स्थानीय

heliport 01

हेलिपोर्ट रहेको सूर्यविनायक नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष शिवराम राय पनि स्थानीयको गुनासो दिनहुँ सुन्नुपरेर तनावमा छन् । ‘यहाँ हेलिपोर्ट बन्नुअघि हामीसँग कुनै सरसल्लाह समेत गरिएन, स्थानीयको समस्या त छँदैछ सबैभन्दा बढी वरिपरी सञ्चालनमा रहेका विद्यालयहरुको पठनपाठनमा परेको नकारात्मक असर भने चिन्ताजनक छ । यहाँ कुनै दृष्टिकोणबाट पनि हेलिपोर्ट सञ्चालन गर्नु उपयुक्त छैन’ स्थानीय जोरपाटी माध्यमिक विद्यालयक सञ्चालक समितिका अध्यक्ष समेत रहेका रायले भने । सोही विद्यालयका प्रधानाध्यापक हरि प्रसाद ढकालले हेलिकोप्टरको ध्वनिप्रदुषणले पठनपाठन पुरै विथोलिएको बताउँदै दुर्घटनाको जोखिम समेत रहेकोमा चिन्ता प्रकट गरे । विद्यार्थीहरुले पनि यही गुनासो गरेका छन् ।

महानिर्देशकको लिँडेढिपी

क्यानका महानिर्देशक प्रदीप अधिकारीको एकल चाहना र दवावले नै नलिनचोकमा हेलिपोर्ट निर्माण हुनपुगेको समाचार सूत्रले बताएको छ । दशकौं अघि क्यानले लिएको ३३ रोपनी जमिनको सदुपयोग गर्ने भनेर उनले झण्डै तीनगुणा बढी लगानीमा त्यो पोर्ट निर्माण गराएको सूत्रको दावी छ । देशका ठूला र आन्तरिक क्षमताका विमानस्थलहरु निर्माण र पुननिर्माणमा निकै रुचि राख्ने अधिकारीले यसमा पनि आफ्नो एकाधिकारको बल प्रयोग गरेर नै हेलिकोप्टर कम्पनीहरुलाई नलिनचोक जान वाध्य पारेको बताईएको छ । 

यस बिषयमा नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की र उपाध्यक्ष प्रतापजंग पाण्डेले कुनै प्रतिक्रिया दिन अस्वीकार गर्दै पन्छिए । संघका प्रवक्ता मुरली जोशीले पनि माथिको आदेश नभई आफूले बोल्न नमिल्ने बताए ।

heliport 07heliport 06heliport 04heliport 03heliportheliport 05CSK_2772

प्रतिक्रिया