नेपालमा हात्तीहरु तराई र भावर क्षेत्रमा मात्र पाईन्छन् । मूलतः संरक्षित क्षेत्र वा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्र जहाँ मानिस र हात्ती सँगै सँगै जसो बस्छन । यी क्षेत्रमा मानव हात्ती बीच सबैभन्दा बढी द्वन्द्वका घटना भएका छन् । नेपालको पूर्वी क्षेत्र अर्थात कोशी प्रदेशका खासगरी झापा, मोरङ र सुनसरी जिल्ला जंगली हात्ती बाट बढि प्रभावित जिल्ला हुन । यी बाहेक कोशी प्रदेशका इलाम र उदयपुर जिल्लामा पनि हात्ती प्रभावित जिल्लाको रुपमा रहेका छन ।

हात्ती एकै ठाँउमा स्थिर नबस्ने र घुमफिर गरिरहने प्राणी हुन । उनीहरु हिड्ने परम्परागत आफ्नै बाटो छ । तर पछिल्ला केही दशक यता हात्ती हिड्ने परम्परागत बाटोमा मानवीय चाप बढेको छ । त्यस्ता कतिपय क्षेत्रहरु मानिसहरुका बस्ती तथा कृषि भूमिमा रुपान्तरित भएका छन् । जसले गर्दा हात्तीहरुको नियमित आवागमनमा अवरोध सिर्जना भएको छ । हात्ती विचरण गर्ने क्षेत्र खुम्चिन पुगेको छ भने उनीहरुका लागि खानाको समेत अभाव हुन थालेको छ । हिडडुल र खानाको खोजिमा अहिले हात्तीहरु खेतीबालीमा पस्ने धान, मकै, गहुँ, उखु तथा केरा लगायतका अन्नबालि र फलफुल खाने, नष्ट गर्ने र कहिले काहिं मानव वस्तिमा समेत पसरे घर–गोठमा क्षति पुर्याउने गरिरहेका छन् । यसरी जंगली हात्ती बस्तिमा पस्न थालेपछि कतिपय वस्तिका बासिन्दाहरु साँझबिहान घरबाहिर निस्किन र आवतजावत गर्न डराउनुपर्ने अवस्था आएको छ । कतिपय वस्तिमा हात्ती आउने डरले भयभीत हुँदै रात विताउनु पर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् 

हात्ती र मानव द्वन्द्वका कारण एकातर्फ स्थानीय बासिन्दाहरू पीडित छन् भने अर्कातर्फ हात्ती पनि मानव गतिविधिदेखि उत्ति नै पीडित छ । हात्तीले घर र खेतीमा गर्ने सम्भावित क्षति र डरका कारण स्थानीय बासिन्दाहरूले राँको बाल्ने, पटका पड्काउने, साइरन बजाउने, हात्तीनजिकै गएर होहल्ला र ढुंगामुढा गर्ने लगायतका गतिविधि गरेर प्रतिकार गर्ने गरेका छन् । जसले गर्दा हात्ती समूहबाट एक्लिने, त्रसित हुने र समुदायमा झनै क्षति पु¥याउनेसम्मका अवस्था सिर्जना भएको छ । अन्नबाली, घर तथा गोठ जोगाउन खेतबारी तथा घरवरपर जडान गरिएको विद्युतीय नांगो तारले गर्दा हात्तीको विचरणमा झनै जोखिम थपेको छ । यहिकारणले जंगलछेउ बस्ने बासिन्दाहरु र हात्तीबीच दिन प्रतिदिन द्धन्द्व बढिरहेको छ । द्वन्द्वकै क्रममा कहिलेकाँही मानिसको ज्यान समेत जाने गरेको छ भने प्रतिकारको क्रममा हात्ती पनि मारिने गरेका छन् ।

हात्ती मानव द्वन्द्व ्व को मूल कारण प्राकृतिक बासस्थानको विनाश नै हो । करिव ४ दशक देखि शुरुभएको यो द्वन्द्व व्यवस्थापनका लागि अहिले संघ र प्रदेश सरकार मातहतबाट विभिन्न प्रयासहरु भइरहेका छन् ।


 

प्रतिक्रिया