फलोअपः पाइलटको अडानपछि सबै हेलिकप्टर नलिनचोकमा ग्राउण्डेड

काठमाडौं । निजी क्षेत्रका हेलिकप्टर पाइलटहरूले भक्तपुरको नलिनचोकमा भर्खरै सञ्चालन सुरु भएको हेलिपोर्टबाट कुनै पनि उडान नगर्ने घोषणा गरेका छन् । सुरक्षाका दृष्टिले उच्च जोखिम क्षेत्रमा बनाईएको त्यो हेलिपोर्टबाट आजदेखि कुनै पनि उडान नगर्ने उनीहरुले घोषणा गरेका हुन् ।

हवाई सुरक्षा र अत्यावश्यक पूर्वाधार मानिएका सुरक्षा, बाटो, इन्धन डिपो, टावर, दमकल, उडान र अवतरणका लागि आवश्यक क्षेत्रफल नलिनचोक हेलिपोर्टमा उपलव्ध छैनन् । यी पक्षहरु प्रति ध्यानाकर्षण गराउँदा पनि नागरिक उड्डयन प्राधिकरणले वास्तै नगरेपछि सुरक्षासँग खेलबाड गर्न नसिकने भनेर पाइलटहरुले मुख खोल्न वाध्य भएको बताएका छन् । गत साता पाइलटहरूले नागरिक उड्डयन प्राधिकरणलाई ध्यानाकर्षण पत्र पठाएका थिए । त्यसपछि एक चरणमा प्राधिकरणसँग बसेर छलफल भएपनि समाधान निस्कन सकेको थिएन ।

‘नलिनचोकबाट उडान गर्न सक्दैनौं भनेर गत साता हामीले प्राधिकरणलाई गुहारेका थियौं,’  पाइलटहरुको भनाई छ, ‘प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यसमा खासै चासो देखाएनन् । उनकै व्यक्तिगत चाहनामा जबर्जस्ती निर्माण गरिएको यो हेलिपोर्टलाई अधिकारीले प्रतिष्ठाको बिषय बनाएको देखिन्छ । तर जे भए पनि आजदेखि कुनै पनि उडान     हुनेछैन ।’

पाइलटहरुले आजदेखि सबै हेलिकप्टरहरू नलिनचोक हेलिपोर्टमै ग्राउन्डेड गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार र निर्माण कार्य भैरहँदा एयरट्राफिकको चाप घटाउन भनेर प्राधिकरणले हेलिकप्टरका लागि नलिनचोकमा हेलिपोर्टको व्यवस्था गरेको बताएको छ ।  


यो हेलिपोर्टबारे दृष्यटिभीले सबैभन्दा पहिले स्थलगत रिपोर्ट सार्वजनिक गरेको थियो– भक्तपुरको नलिनचोकमा संसारकै दूर्लभ हेलिपोर्ट
 

प्रतिक्रिया