भारतीय प्रधानमन्त्री मोदीको कञ्जुस्याईं

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ‘युद्ध’ भन्दा पनि विश्वमा शान्ति र समृद्धिको प्रतीक ‘बुद्ध’ योगदान गरेको बताएका छन् । उनले शान्ति स्थितिलाई बढावा दिने यो विरासतले भारतलाई २१ औं शताब्दीमा आफ्नो भूमिका बलियो बनाउन जोड दिए ।

विश्व शान्तिदूत बुद्धको जन्मस्थल हो नेपाल । बुद्धले ज्ञानको खोजीमा भारतको पनि भ्रमण गरेको इतिहासमा उल्लेख छ । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय बौध्द समुदाय नेपालको लुम्बिनीलाई बुध्दको जन्मस्थल मान्दछन् । यसर्थ लुम्बिनी संसारभरका शान्तिकामी र बौध्द समुदायको दर्शनीय स्थलका रुपमा आकर्षणको केन्द्र बनेको छ । 

छिमेकी देश भारतका प्रधानमन्त्री मोदी पटक पटक नेपाल भ्रमणमा आएका छन् र पछिल्लो पटक लुम्बिनी पुगेर बुध्दजन्मस्थलको प्रत्यक्ष दर्शन पनि गरेका छन् । उनले यहाँ आउँदा संसदलाई सम्वोधन गर्दै नेपालको लुम्बिनी बुध्दको जन्मस्थल हो भनेर चर्चा गरेका छन् । तर जब अन्तर्राष्ट्रिय मञ्चहरुमा शान्तिको प्रसंग चल्छ, त्यस्ता अवसरमा भने उनले कञ्जुस्याईं गर्ने गरेका छन् । यसपटक पनि मोदी कञ्जुस्याईं गर्न पछि परेनन् । उनको यस्तो दोहोरो मापदण्डले विश्व जनमतलाई समेत आश्चर्यमा पारेको हुनुपर्छ ।

अस्ट्रियाको दुई दिने भ्रमणको क्रममा हिजो बुधबार भियनामा भारतीय डायस्पोरालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले भने, ‘हजारौं वर्षदेखि, हामीले हाम्रो ज्ञान र विशेषज्ञता बाँड्दै आएका छौं । हामीले ‘युद्ध’ दिएनौं, संसारलाई ‘बुद्ध’ दिएका छौं ।’ 

बुध्दको चर्चा गर्दा मोदी शान्तिदूत बुध्द नेपालमा जन्मिएका हुन् भनेर भन्न किन हिच्किचाएका हुन् भनेर जो कसैका मनमा प्रश्न उब्जिएको देखिन्छ ।
 

प्रतिक्रिया