दाहाल नेतृत्व सरकारको अन्तिम बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्ने छ भने मन्त्री परिषदको बैठक पनि ४ बजे नै बस्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि २८ असारमा आफूले प्रतिनिधि सभामा विश्वासको मत लिन लागेको सन्दर्भमा मन्त्री परिषद सदस्यहरुलाई विस्तारमा जानकारी गराउने तयारी गरेका थाहा भएको छ ।

गठबन्धनको मुख्य घटक एमालेले साथ छोडेपछि अल्पमतमा परेका दाहाल नेतृत्वको सरकारको सम्भवत आज अन्तिम मन्त्रीपरिषद बैठक बस्दैछ । विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि नेपाली कांग्रेस सहितका दलहरुको साथ लिएर एमाले अध्यक्ष केपी शर्मा ओली अर्को सरकारको प्रधानमन्त्री बन्ने सम्भावना छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीमात्र दाहाल नेतृत्वको सरकारमा छन् । नयाँ सरकार बनेपछि यी दुइ दल कता रहने छन् भन्ने निश्चित भैसकेको छैन ।   आजको मन्त्री परिषदले कुनै महत्वपूर्ण निर्णय गर्ने सम्भावना छैन, सरकार अल्पमतमा रहेकाले कुनै ठूला निर्णय नहुने मन्त्रीहरूको भनाइ छ ।  

११ पुस २०७९ मा प्रधानमन्त्री बनेका  दाहाल   शुक्रबार संसदबाट विश्वासको मत लिने औपचारिकता सकिएपछि सरकारबाट हट्ने विश्वास गरिएको छ ।   

 
 
 

प्रतिक्रिया