प्रतिनिधि सभा बैठक

विश्वासको मत माग्दै प्रधानमन्त्री, नयाँ गठबन्धनसँग दुइतिहाई भन्दा बढी

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत माग्दै बैठक सुरु हुनासाथ सम्वोधन गर्ने भएका छन् ।  सभामुख देवराज घिमिरेले सदन सुरु भएपछि दाहाललाई समय दिने छन् । 

नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाएर अघि बढ्ने सहमति गरेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र एकिकृत समाजवादीमात्र सरकारमा थिए । यसरी दाहालसँग जम्मा ६३ सांसदको मात्र समर्थन रहेको छ ।

अल्पमतमा झरेपछि पनि सोझै राजीनामा नदिएर प्रधानमन्त्री दाहालले संसदलाई सम्वोधन गरेर आफ्ना भनाई राख्ने र मत परीक्षण पनि गर्ने बाटो रोजेपछि आज विश्वासको मतको प्रक्रिया पूरा गरिन लागेको हो ।

विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको दुई सय ७५ सिटका लागि भएको निर्वाचनपछि कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, नेकपा (एकीकृत समाजवादी) १०, जनमत पार्टी छ, स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चासँग एक–एक सांसद छन् ।

ठूला दुइ पार्टीको सहमति बनेपछि संसदमा उनीहरुसँग स्पष्ट दुइतिहाई मत पुग्छ । दाहालको पक्षमा जम्मा ६३ सांसदमात्र रहेका छन् ।
  

प्रतिक्रिया