इजरायली सेना पछि हटेपछि गाजा शहरमा ६० भन्दा बढी शव फेला

गाजा। इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका इजरायलको सरकारी समाचार संस्था वाफाले जनाएको छ।

वाफाका अनुसार इजरायली हवाई आक्रमण र स्थलगत कारबाहीले शुजैयामा ८५ प्रतिशतभन्दा बढी आवासीय भवनध्वस्त भएका छन्। रिपोर्टमा भनिएको छ, “सम्पूर्ण आवासीय भवनहरू भत्केका छन्। सडकहरू भत्केका छन् र यस क्षेत्रभरिका अन्य महत्त्वपूर्ण पूर्वाधार लक्षित गरिएको छ।”

यसैबीच इजरायली सेनाले तेल अल–हवा क्षेत्र र गाजा शहरका अन्य केही स्थानमा आक्रमण जारी राखेको जनाएको छ। इजरायली रक्षा बल (आईडीएफ) ले बुधबार एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले शुजैया क्षेत्रमा आफ्नो अभियान पूरा गरेको जनाएको छ।

कारबाहीको अन्तिम दिन इजरायली सेनाले धेरै भूमिगत सुरुङ मार्गध्वस्त पार्नुका साथै सुरुङभित्र हातहतियार, ल्यापटप र सञ्चार उपकरण फेला पारेको विज्ञप्तिमा उल्लेख छ।

आईडीएफले उक्त क्षेत्रमा ‘आतङ्कवादी र आतङ्कवादी संरचना’ हरूको उपस्थिति रहेको सङ्केत गर्ने गुप्तचर रिपोर्टहरूको आधारमा अभियान सञ्चालन गरेको बताएको छ र आक्रमण अघि ‘नागरिकहरूको क्षति कम गर्न’ धेरै कदमहरू चालेको बताएको छ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलको दक्षिणी सीमाबाट गरिएको हमासको आक्रमणमा कम्तीमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो।

गत २४ घण्टामा इजरायली सेनाको कारबाहीमा थप ५० जनाको मृत्युभएको र अन्य ५४ जना घाइते भएको उल्लेख गरिएको छ।

सन् २०२३ को अक्टोबरको सुरुमा प्यालेस्टाइन–इजरायल द्वन्द्व सुरु भएयता मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या ३८ हजार ३४५ पुगेको र ८८ हजार २९५ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। (रासस)

प्रतिक्रिया