सिमलताल बस दुर्घटनाः तीनजना पौडिएर बाँचे

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराेले त्रिशूलीमा बस खस्दा बाँच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनिहरू बिहीबार साँझ ७ः३० बजे काठमाडौँबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए। तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए। “बसमा हामी ३० देखि ३५ जना थियौँ। त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निस्कियौँ, पौडिएर बाँच्न सफल भयौँ।”

खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले सुनाए। “हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ”, उनले थपे, “बस पानीमा धेरै मुनि पुगेको थियो। हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ।” टाउकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

उपचार गररेर फर्किँदै गरेका गरुडा–९ रौतहटका जुगेश्वर राय यादवले आफ्नो परिवारका चारजना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए। बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाति सवार थिए। काठमाडौँमा उपचार गरेर घर फर्कँदै गर्दा उनको परिवारका पाँचजना दुर्घटनामा परेका हुन्।

“काठमाडौँमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ। एक्कासि नसोचेको घटना भयाे। पाँचपटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो”, उनले स्मरण गरे,“पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए। अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन। बसको चालक र सहचालक पनि त्यही डुब्नुभयो।”

बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उनले सुनाए,“जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो। बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भएँ, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ।” उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ता डिस्चार्ज भएका छन्। सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो। हाल बेपत्ता बसको खोजीकार्य जारी छ। नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। रासस

प्रतिक्रिया