समाचार टिप्पणी

अर्को उथलपुथलको तयारीमा प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजकाजबाट फुर्सद मिल्नेबित्तिकै विद्रोही शैलीमा सक्रिय हुनथालेका छन् । हिजो सोमबार मात्र प्रधानमन्त्री पदबाट मुक्त भएका उनले आज समाजवादी मोर्चाको बैठक बोलाएका छन् ।  

prachanda___

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेको मोर्चाको आज अपरान्ह ४ बजे एकिकृत समाजवादीको प्रधान कार्यालय आलोकनगरमा बैठक बस्ने भएको मोर्चाको सचिवालयले जनाएको छ ।

‘पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने’ भनिएको बैठकमा प्रचण्डले अचानक सरकारबाट हट्नुपरेको कारण र भावी रणनीतिबारे व्याख्यात्मक विवरण प्रस्तुत गर्ने बुझिएको छ । 

मोर्चा गठनका बेला सहभागी जनता समाजवादी पार्टी, नेपाल फुटेपछि समाजवादी मोर्चामा संलग्न छैन । जनता समाजवादी पार्टी नेपालले भने समाजवादी मोर्चाको औचित्य नरहेको भन्दै आलोचना गरेको छ ।

प्रचण्डले एमालेसँग एकता गरेपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि पछिल्लो सत्ता गठबन्धन बन्दा समाजवादी मोर्चाको अवधारणा अघि सारेका थिए । जसमा उनले एमालेलाई समेत सहभागी गराउने प्रयाश गरेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चालाई महत्व नदिएपछि माधव नेपाल र नेत्र बिक्रम चन्दसहितलाई समेटेर मोर्चा बनाईएको हो । सत्ताबाहिर रहँदा फरक शैलीमा राजनीतिलाई अघि बढाउने रणनीति अन्तर्गत प्रचण्डकै अभिरुचीमा यो मोर्चाको गठन भएको बताईन्छ ।

माओवादीकै पूर्व लडाकू नेता चन्द र प्रचण्डको रणनीतिक समझदारी अनुसार नै चन्दको नेतृत्वमा एउटा पूर्व माओवादी समूह सधैं सत्ताबाहिर रहेर क्रान्तिलाई निरन्तरता दिएको माओवादी निकट एक लेखकले बताए ।

प्रचण्ड स्वयंले पनि नेपाली कांग्रेस र एमालेसँग खटपट हुँदा ‘आफूहरु फरक ढंगले जनयुध्दमै क्रियाशील रहेकाले धैर्यपूर्वक काम गर्न’ आफ्ना मन्त्रीहरुलाई सल्लाह दिने गरेको ती लेखक बताउँछन् ।

पछिल्लो आमनिर्वाचन पछि नेपाली कांग्रेस र एमाले दुवैलाई उपयोग गरेर सत्ताको नेतृत्वमा पुगेका प्रचण्ड यसपटक उनले सोच्दैनसोचेको अवस्थामा सत्ताबाट बाहिरिनुपरेको थियो । संसदका दुइ ठूला दल बाँकी कार्यकाल आलोपालो सत्तामा रहने समझदारी गरेर सरकारमा गएपछि तेस्रो हैसियत भएको माओवादी केन्द्र तत्काल सत्तामा फर्किइहाल्ने सम्भावना देखिँदैन ।

आफू राजनीतिमा सक्रिय रहुञ्जेल उथलपुथल भैरहने घोषणा गरेका प्रचण्ड सिंहदरबारबाट घर फर्किएको भोलिपल्टैदेखि नयाँ उथलपुथल ल्याउन सक्रिय हुने छाँटकाँट देखिएको छ ।
 

प्रतिक्रिया