भारतः जगन्नाथ मन्दिरको भण्डार नखुलेपछि हल्लिखल्ली

भुवनेश्वर । १२ औं शताब्दीको पुरीको जगन्नाथ मन्दिरको खजाना राखिएको रत्न भण्डारको भित्री कोठा नक्कली साँचोले खुल्ननसकेपछि हल्लिहल्ली मच्चिएको छ ।

उडिशा राज्य सरकारले त्यसको छानविन गर्ने भएको छ । हिजो १४ जुलाईमा तालाहरू खोल्न नसकेपछि मन्दिर व्यवस्थापनको पसिना छुटेको छ । 

रत्न भण्डार ४६ वर्षपछि आइतबारदेखि बहुमूल्य वस्तुको सूची र संरचना मर्मतका लागि मन्दिरका ढोकाहरु खेल्न लागिएको थियो ।

विशेष समितिका सदस्यहरूले कोषको भित्री कोठाको ढोकामा तीनवटा ताला खोल्ने प्रयास गरे पनि पुरी जिल्ला प्रशासनसँग उपलब्ध दुईवटा ‘डुप्लिकेट’ साँचोले एउटा पनि खोल्न नसकेको जगन्नाथ मन्दिरका प्रमुख प्रशासक अरविन्द पाध्येले प्रेस ट्रस्ट अफ इन्डिया (पिटीआई) सँग बताए । 

कानुन मन्त्री पृथ्वीराज हरिचन्दनले भने, ‘गत बीजद सरकारको समयमा रत्न भण्डारको नक्कली साँचोको उपलब्धतालाई लिएर झूटो हल्ला फैलिएको थियो । यस विषयमा पक्कै छानबिन हुनेछ ।’

जगन्नाथ मन्दिर राज्य सरकारको कानून विभाग अन्तर्गत पर्दछ ।

गत वैशाख ४ गते सरकारले रत्न भण्डारलाई भौतिक परीक्षणका लागि खोल्ने प्रयास गरे पनि साँचो नहुँदा त्यो प्रयास असफल भएको थियो । केही दिनपछि सरकारले डुप्लिकेट साँचो फेला परेको बताएको थियो ।

यदि कसैले भगवान जगन्नाथको गहना छोयो भने अवश्य त्यसको परिणाम भोग्नुपर्ने मन्त्रीले चेतावनी दिएका छन् ।

‘मलाई आशा छ कि यस्तो घटना नहोस् । हामी सूची पूरा भएपछि यसको स्पष्ट चित्र पाउन सक्छौं,’ मन्त्री हरिचन्दनले भने ।

भर्खरै सम्पन्न विधानसभा चुनावमा रत्न भण्डार पुनः खोल्ने बिषय प्रमुख राजनीतिक मुद्दा थियो । सन् २००० देखि राज्यमा शासन गरिरहेको बीजेडीलाई पराजित गर्दै भाजपा चुनावपछि सत्तामा आयो ।

वरिष्ठ बीजेडी नेता अमर प्रसाद सत्पाथीले १२ औं शताब्दीको मन्दिरको खजानाको साँचो हराएको विषयमा छानबिन गर्न गठित न्यायमूर्ति रघुवीर दास आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

रत्न भण्डारको साँचो कुन अवस्थामा बेपत्ता भयो भन्ने विषयमा छानबिन गर्न २०१८ जुनमा आयोग गठन भएको थियो । उक्त समितिले त्यही वर्षको नोभेम्बरमा राज्य सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो, तर सार्वजनिक गरिएको थिएन ।

विपक्षी कांग्रेस र बीजेडीले भाजपा सरकारलाई रत्न भण्डारको साँचोको बारेमा जनतासामु स्पष्ट तस्वीर प्रस्तुत गर्न आग्रह गरेका छन् ।

‘तालाहरू किन भाँचियो ? रत्न भण्डारका मूल साँचोहरू कहाँ छन् ? सरकारले जनतासामु स्पष्ट चित्र प्रस्तुत गर्नुपर्छ,’ ओडिशा कांग्रेसका प्रवक्ता विश्वरञ्जन मोहन्तीले भने ।

आइतबार डुप्लिकेट साँचोबाट तीनवटा ताला खोल्न नसकेपछि विशेष समितिका सदस्यहरूले मापदण्डअनुसार सञ्चालन प्रक्रिया अपनाउँदै मजिस्ट्रेटको उपस्थितिमा तीनवटा ताला तोडेर भित्री कक्षमा प्रवेश गरेको पाध्यले बताए ।

मन्दिरको तहखानामा रहेको रत्न भण्डारका दुई भाग छन् । रत्न भण्डारको बाहिरी कक्षमा दैनिक रूपमा देवताहरूले प्रयोग गर्ने गरगहनाहरू भण्डारण गरिन्छ भने भण्डारको भित्री कक्षमा धेरै गहनाहरू राखिन्छन् ।
 

प्रतिक्रिया