पर्वत। हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ। आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ। महत्वपुर्ण पर्व हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्नेको आज बिहानैदेखि घुइँचो लागेको छ।
पर्वतको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीबेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनीलगायतका नदी तटमा बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ। मोदी र कालीगण्डकी नदीको सङ्गमको रुपमा रहेको मोदीबेणीधाममा भजन कीर्तनसहित विशेष कार्यक्रम राखिएको छ।
त्यस्तै पर्वत, स्याङ्जा र गुल्मी तथा गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीबेणीमा पनि स्नान गर्न टाढा टाढाबाट श्रद्धालुहरु आइपुगेका छन्। मोदीवेणीमा स्नान गर्नका लागि पर्वत, बागलुङ्, स्याङ्गजा र कास्कीबाट हजारौको संख्यामा श्रद्धालुहरु आउने गर्दछन भने सेतीबेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्गजा र गुल्मीबाट श्रद्धालुहरु आएका छन्।
मुक्तिनाथबाट बगेर आएको र साक्षात विष्णुको अबतारको रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीबेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ। कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाई छ। हरिशयनी एकादशीको अबसरमा मोदीबेणी र सेतीवेणीमा भजन कीर्तन आयोजना गरिएको छ। आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घर घरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने चलन छ। तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ। रासस
प्रतिक्रिया