नेपाली कांग्रेस

सत्ताको उपयोग गर्दै पार्टीको नेतृत्व लिने दाउमा कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला आगामी महाधिवेशनलाई लक्षित गरेर भ्रमण र भेटघाटमा जुटेका छन्। १४औं महाधिवेशनमा सभापति पदका प्रत्याशी रहेका कोइराला अर्को पटक त्यही पदमा नदोहोर्याउने अडानबाट पछि हटेका छन्। उनको ‘यसपटक एकैपटक’ नारा संशोधन भैसकेको छ।

महाधिवेशनपछि सभापति शेर बहादुर देउवासँग औपचारिक सम्वादमा मात्र सीमित रहेका कोइरालाले पछिल्लो समय प्रदेश र संघको सत्ता समीकरणमा चासो बढाएर सभापति देउवासँग निकटता बनाईसकेका छन्। कोशी प्रदेशको गठबन्धन परिवर्तनमा एक्लै निर्णय गरेको भनेर कोइरालाको आलोचना नभएको होइन। संघमा गठबन्धन फेरिने बित्तिकै तत्कालै प्रदेशमा पनि त्यसको असर पर्दै आएको छ। अब पनि नेपाली कांग्रेस र एमालेको सत्ता सहकार्य सुरु भएकाले प्रदेशहरुमा सकेसम्म दुइ दलबीच भागबण्डा गरेर सरकार पुनर्गठन हुने निश्चित छ। 

नेता कोइरालाले यसपटक आफ्ना निकट नेतालाई संघीय सरकारको भागबण्डामा पार्न सफल भएपछि सभापति देउवासँग उनी अनुगृहित देखिन्छन्। प्रदेशहरुमा समेत उनले आफ्ना मानिसलाई सुविधाको पदमा पठाउने अवसर नपाउलान् भन्न सकिँदैन। कोइराला आगामी महाधिवेशन आफ्नो अनुकूल बनाउन सत्ता राजनीति फलदायी हुने कुरामा निश्चिन्त देखिन्छन्।

नेपाली कांग्रेस र एमालेको गठबन्धन बन्नुअघि बालकोट दरबारमा पटक पटक पुगेका कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गहन सम्वाद गरेर विश्वासको वातावरण निर्माण गरेको बताईन्छ। ओलीसँग बनाएको विश्वासको सम्बन्ध सिँगो नेपाली कांग्रेसका लागि कति फलदायी हुने हो तर कोइराला स्वयंलाई भने भरोसालाग्दो आधार बनेको जानकार सूत्रहरु बताउँछन्।  

नेता कोइरालाले आगामी महाधिवेशन लक्षित तयारी स्वरुप विभिन्न तहका नेतासँग पनि अन्तरक्रिया सुरु गरेका छन्। ०७८ मा १४औं महाधिवेशन भएकाले अब अर्को महाधिवेशन विधानअनुसार समयमै हुनुपर्नेमा उनले जोड दिएका छन्।

२०७८ मंसिर अन्तिम साता काठमाडौंमा १४औं महाधिवेशन भएको थियो। विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन हुनुपर्छ। विधान अनुसार आगामी २०८२ को मंसिर २४ गतेपछि महाधिवेशन हुनुपर्नेमा कोइरालाको जोड छ।

नेता कोइरालाले आजै पनि उपत्यका सहित ५ वटा महानगरका नेपाली कांग्रेसका सभापतिहरूसँग छलफल गरे।

सभापतिहरुसँग छलफल गर्दा उनले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैलीप्रति शंका व्यक्त गर्दै १५ औं महाधिवेशन समयमै हुनेमा भरोसा नरहेको सुनाएका थिए।

कोइरालासँग छलफलमा बसेका एक महानगर सभापतिले उनको भनाई उदृत गर्दै भने, ‘विधानअनुसार महाधिवेशन नभए पार्टी धरासायी हुन्छ र त्यसको असर आगामी चुनावमा देखिन्छ, त्यसैले समयमै महाधिवेशन गर्न चनाखो भएर लाग्नुपर्छ।’ 

आज कोइरालासँग छलफलमा काठमाडौं महानगर सभापति निलकाजी शाक्य, ललितपुर महानगर सभापति सुवानन्द धाख्वा, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी, विराटनगर महानगर सभापति दीपक चापागाईँ र वीरगञ्ज महानगर सभापति मनिन्द्र नेपाली थिए। 
 
 

प्रतिक्रिया