जम्मू कश्मीरमा मारिएका क्याप्टेन थापाको अन्तिम संस्कार दार्जिलिङमा

दार्जिलिङ । भारतको जम्मू कश्मीरको डोडामा आतंकवादीसँग लड्दा मारिएका क्याप्टेन बृजेश थापाको पश्चिम बंगालको दार्जिलिङ जिल्लामा रहेको उनको पुख्र्याैली गाउँमा पूर्ण सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

स्वर्गीय थापाको पार्थिव शरीरमा शुक्रबार श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा जम्मा भएका मानिसहरूले ‘बृजेश थापा अमर रहून्’ नारा लगाएका थिए ।

सेवानिवृत्त कर्णेल भुवनेश के थापाले आफ्नो छोरा बृजेश तेस्रो पुस्ताका सैनिक अफिसर भएको सम्झँदै उनले बाल्यकालदेखि नै सेनामा भर्ना हुन चाहेको खुलासा गरे ।

‘मलाई मेरो छोराप्रति गर्व लाग्छ । उसले आफ्नो कर्तव्य पूरा गर्यो,’ कर्णेल थापाले भने ।

क्याप्टेन थापाको पार्थिव शरीर बिहीबार उनको पुख्र्यौली घर लेबोङको जिङ टी एस्टेटमा लगिएको थियो ।

दाहसंस्कारका क्रममा राजनीतिक दलका नेताहरु, उच्च सरकारी तथा सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो ।

एक्समा सन्देश पोस्ट गर्दै भारतीय सेनाको त्रिशक्ति कोरले भनेको छ, ‘साहसी बृजेशले १५ जुलाई २०२४ मा डोडामा आतंकवादीहरूसँग बहादुरीका साथ लड्दै सर्वोच्च बलिदान दिए । विभिन्न सेना र सिभिल गणमान्य व्यक्तिहरूले बहादुर बृजेसलाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । भारतीय सेनाले पूर्ण रूपमा सुनिश्चित गरेको छ, दिवंगत आत्मालाई सैनिक सम्मान अर्पण गर्दछ ।’

प्रेस ट्रस्ट अफ इन्डियाका अनुुसार, जम्मु कश्मिरको डोडामा हतियारधारी आतंककारीहरूसँगको गोली हानाहानमा क्याप्टेन थापासहित चार सैनिकको मृत्यु भएको छ ।

क्याप्टेन थापा २७ वर्षका थिए र पाँच वर्षअघि सेनामा भर्ना भएका थिए ।
 

प्रतिक्रिया