समाचार टिप्पणी

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ओलीले सोच्नुपर्ने पक्षहरु

काठमाडौं । नव गठित सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार विश्वासको मत लिने भएका छन् । संघीय संसदका महासचिवलाई पत्र लेख्दै ओलीले विश्वासको मत लिने कार्यक्रम तयार गरिदिन आग्रह गरिसकेका छन् । 

नेपाली कांग्रेस र एमाले मिलेर बनेको नयाँ गठबन्धनको नेतृत्व गर्दै ओली संसदको आगामी कार्यकालको बाँकी अवधिको पहिलो पालोका प्रधानमन्त्री नियुक्त भएका हुन् । दुइ ठूला दलका शीर्ष नेताबीचको सहमति अनुसार बाँकी अवधि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको नेतृत्वमा रहेर ०८४ को संसदीय निर्वाचन गराउने छन् । ठूला दलबीचको यो सहमतिको कसरी पालना हुनेछ भन्ने कुरा ठूलो परीक्षामा छ । 

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका छन् दुइ ठूला दलले । यही नै उनीहरुको परीक्षा लिन पर्याप्त हुने छ ।

एमाले अध्यक्ष ओलीले माओवादीसँगको सत्ता गठबन्धन त्याग्ने दिन बिहानसम्म पनि सहयात्री दलका नेता प्रधानमन्त्री पुष्पकमल दाहाललाई अन्धकारमा राखेको देखिएको छ । दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व २०८१ असार २८ गते सम्वोधन गर्दा ओलीको ‘अविश्वसनिय व्यवहार’ को खुलासा गरेका थिए । सदनको अग्रआशनमा बसेका ओलीले मुसुमुसु हाँस्दै दाहालको आलोचना, निन्दा र घोचपेच सुनेका थिए । तर उनले ती कुनैपनि कुराको जवाफ दिएका छैनन् । सम्भवतः वाकपटु ओलीले आज  दाहालका आरोपहरु सम्वोधन गर्नेछन् । 

१७ असारको बिहान भेट हुँदा ‘स्वर्ग र नर्कसँगै जाने भनेर ओलीले भने पछि आफू भावुक आश्वासनहरूबाट झुक्याइएँ’ भनेर दाहालले संसदमा त्यसपछिका राजनीतिक बिकासक्रमका विवरण रेकर्ड गराईसकेका छन् ।

दाहालले विश्वासको मतको याचना गरिरहँदा अधिकांश समय ओलीको आलोचनामा खर्च गरेका थिए । उनले व्यंग कस्दै भनेका थिए– ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो ।’

कहिले नेपाली कांग्रेस र कहिले एमालेका काँधमा बसेर सत्ताको रथ हाँक्न पल्केका दाहाल यसपाली जमिनमा पछारिन पुगेपछि रन्थनिनु स्वाभाविक नै हो । आफू कहिल्यै सत्ताबाट पाखा पारिन पनि सक्छु भनेर अनुमान समेत नगरी बसेका दाहाल ठूला दलबीच फाटो पारेर फेरि सत्तामा फर्किन सक्ने हुन् कि होइनन् भन्ने कुरा अहिले त निकै परको बिषय बन्न पुगेको छ ।

एमालेले विश्वासको मत फिर्ता लिएपछि आफ्नो नेतृत्वको सरकारले दीर्घकालिन असरका निर्णय त परको कुरा, एउटा पनि नियुक्ति नगरेको दाहालको दावी थियो । उनले चुनौतिको शैलीमा प्रश्न गरे– ‘तपाईंहरूले कहिल्यै देखाउनुभएको छ यो नैतिकता? अल्पमतमा परेपछि पनि विगतमा एमाले नेतृत्वले कस्ता कस्तासम्म निर्णय गर्नुभएको छ, त्यो रेकर्ड इतिहासमा सुरक्षित छ ।’

‘संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो । त्यो डर हो, सुशासनको डर । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईंहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफैं मूल्याङ्कन गरिरहनुभएको होला’ दाहालले भ्रष्टाचारको अनुसन्धान गर्न थालेपछि ठूला दल तर्सिएको अर्थ लगाएर उनीहरुको आलोचना गरेका छन् ।

दाहालले नेपाली कांग्रेस र एमालेलाई प्रतिगमनतिर बढ्न लागेको आरोप पनि लगाएका छन् । उनले ठूला दल मिलेर कतै निरंकुशता लाद्ने त होइनन् भनेर आशंका पनि गरेका छन् ।

दाहालको भनाई छ– ‘मलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको छ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन ।’

दाहालले आशंका गर्दै भनेका छन् – ‘यहाँ त नेपाली कांग्रेस र एमाले मिलेर सरकारमात्र बनाउँदै हुनुहुन्न, अत्यन्त रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा पनि गर्दै हुनुहुन्छ । लामो संघर्ष र ठूलो बलिदानबाट जनताले प्राप्त गरेका अधिकार खोस्ने जमर्को गर्दै हुनुहुन्छ । तपाईहरूको यात्रा प्रतिगमनतिर हो भन्ने कुरा तपाईहरूको सहमतिको तरिका, सहमति गरेको ठाउँ र सहमतिको समयबाट आम जनताले बोध गरिसकेका छन् । तपाईंहरू यति धेरै अपारदर्शी हुनुहुन्छ कि जनताको त कुरै छोडौं आफ्नै पार्टी पंक्तिलाई समेत अन्धकारमा राखिरहनुभएको छ । नियत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा चाहिन्छ ? झूटमुट र कूूतर्कको सहारा र मध्यरात चाहिन्छ ?’ 

ठूला दल सुशासनको काम थालेपछि डराएको दावी गर्दै दाहालले भनेका थिए– ‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरू भयो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरू भयो, अर्को समूह डरायो । बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खल्बलिएजस्तो भयो ।’

जनताले आफ्नो शक्ति नदेखाए देशको पूूरै शासन फेरि माफियाहरूकै अधीनमा हुने दाहालले भविष्यवाणी गरेका छन् ।

नेपालकै इतिहासमा प्रहरीको अनुसन्धानबाट यतिधेरै हाइ–प्रोफाइलहरू कहिल्यै कानूूनको नियन्त्रणमा नपुगेको भन्दै दाहालले प्रहरीले आफ्नै पूर्व गृहमन्त्रीहरूलाई नियन्त्रणमा लिने कुरा यसबीचमा कल्पना गर्न पनि छाडिएको बताएका थिए ।

प्रधानमन्त्रीका रूपमा यो तहको विधिको सम्मान यसअघि कसैले देखाएको थियो भन्ने प्रश्न गर्दै दाहालले ‘हामी सरकारमा नरहौंला, तर यी सबै प्रकरणहरूको पटाक्षेप कसरी हुन्छ, हामी निगरानी गरिरहनेछौं’ भनेका छन् ।

विश्वासको मत लिन लागेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले निवर्तमान प्रधानमन्त्री दाहालले उठाएका केही उल्लेख्य प्रश्नहरु र संगीन आरोपहरुलाई कसरी सम्वोधन गर्नेछन्, त्यो भने हेर्न बाँकी नै छ । तर दाहालले उठाएको इमान्दारी र विश्वासको प्रश्न भने ओलीका लागि फलामको चिउरा जस्तै हुने देखिएको छ ।


 

प्रतिक्रिया