संसदमा विश्वासको मत याचना

नेपाली कांग्रेस र एमालेलाई शंका नगर्न प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नदिने घोषणा गरेका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमाले जस्ता बलिया ठूला दल सबै परिवर्तनका अगुवा भएकाले उनीहरुको भूमिकाप्रति शंका नगर्न सुझाव पनि दिए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गरिने बताए । उनले कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउन कुनै कुराले पनि नरोक्ने बताए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारीले एक दिन कानुनी कठघरामा उभिनुपर्छ भन्ने भाष्य समाजमा स्थापित गराउने र  सहकारीपीडितका सम्बन्धमा उचित निर्णय लिईने बताए ।

ओलीले जो कोही भएपनि सहकारी ठगलाई कानुनी कारबाही गरिने र सुशासनका लागि स्टण्ट नभएर सही विचार चाहिने बताए ।

ओलीको घोषणा थियो, ‘‘एउटा कुरा खुलस्त भन्न चाहन्छु । दुनियाँका अगाडि दुनियाँले सुन्नेगरी भन्न चाहन्छु । भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचार सहँदैनौं र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं । भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं । यसमा ढुक्क भए हुन्छ । कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौं ।’’ 

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीच सरकार गठनपूर्व भएको सात बूँदै सहमति पनि संसदमा प्रस्तुत गरेका थिए । जसमा सुशासन, संविधान संशोधन, बिकास र जनसरोकारका बिषय समेटिएका छन् ।
 

 
 

प्रतिक्रिया