प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा  भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली जाँदैछन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको  निमन्त्रणामा प्रधानसेनापति शर्मा कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् ।

महारथी शर्मालाई सेनाको एक टुकडीले  भ्रमणका लागि सोमबारै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ ।

उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

 नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा  पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् । 
 

प्रतिक्रिया