तिङ्कर र कोरलामा अध्यागमन कार्यालय स्थापना गरिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले दार्चुलाको तिङ्कर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रियाअघि बढाउन पनि निर्देशन दिएका छन् । भर्खरै गृह मन्त्रालयको कार्यभार लिएका लेखकले आज अध्यागमन विभागको निरीक्षणपछि यस्तो निर्देशन दिएका हुन् ।

विभागका अधिकारीहरुसँग छलफल गर्दै उनले अध्यागमनसम्बन्धी ऐन, कानुन निर्माणमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए । गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन, नियम, कार्यविधि र नियमावली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिए । 

मानव बेचबिखनका गतिविधिमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित हुन् भन्दै उनले यदि कुनै कर्मचारीलाई दोषी पाइएमा कडा कारबाही हुने चेतावनी दिए । अध्यागमन कार्यालयबाट मुलुकको आकृति प्रतिविम्बित हुने भएकाले सम्बद्ध कर्मचारीलाई सबै यात्रीसँग असल व्यवहार गर्न पनि मन्त्री लेखकले निर्देशन दिए ।

त्यस अवसरमा गृहसचिव एकनायारयण अर्यालले पूर्ण क्षमतामा अध्यागमन कार्यालय सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै सरकारी निकायसँग समन्वय गरेर विभागले काम गर्नुपर्छ भने । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका कार्यालयसँग समन्वय र सहकार्य हुनुपर्नेमा उनको जोड थियो । 

विभागका महानिर्देशक कोशहरि निरौलाले परिवर्तित सन्दर्भमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५ अनुसार कार्यसम्पादन चुनौतीपूर्ण भएको जानकारी गराएका थिए ।
 

प्रतिक्रिया