‘निर्वाचन प्रणालीमा सुधार जरुरी छ’ कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन गर्न जरुरी रहेको बताएका छन् ।

कोइरालाको टिप्पणी छ, ‘संविधान संशोधनको विपक्षमा रहेका दलहरूले राम्रोसँग संविधानको अध्ययन नै गरेका छैनन् ।’

आज मंगलबार काठमाडौंको एक कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य कोइरालाले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने प्रावधान रहेको चर्चा गर्दै संविधानमा महसुश गरिएका कमी कमजोरी सच्याउन आवश्यक रहेको बताए । संविधानमा के–के कुरामा सुधार गर्ने भन्नेबारेमा छलफल गर्न आवश्यक रहेको बताउँदै कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेकोमा खुसी प्रकट गरे । 

नेता कोइरालाले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू खादा, माला र स्वागतमै रमाएको देखेर आफूले उनीहरुलाई काममा ध्यान दिन सचेत गरेको पनि बताए ।

नेपाली कांग्रेस र एमाले मिलेर बनेको नयाँ सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको तर्फ सचेत गराउँदै कोइरालाले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए । 
 
 

प्रतिक्रिया