यस्तो छ नेपालमा भएका विमान दुर्घटनाको विगत

काठमाडौं । नेपालको हवाई सेवाको सुरक्षालाई लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरुमा बहस चलिरहेकै बेला आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ज्यादै नजिक सौर्य एयरको विमान दुर्घटना भएको छ । आजको दुर्घटनामा विमानमा सवार १९ मध्ये एकजना पाइलट बाहेका सबैको निधन भएको छ । पाइलटको उपचार भैरहेको छ ।

 नेपालको हवाई सुरक्षामाथि प्रश्नहरु उठेका छन् र सुधारका लागि अन्तर्राष्ट्रिय वायु सेवा संघ र युरोपियन युनियन समेत पटक पटक सुझाव दिएका छन् । तर नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले आफूसँग रहेको एकाधिकार छोड्न नचाहेपछि सुरक्षा सुधारका कामहरु हुन नसकेको देखिएको छ । नियमन र सञ्चालनका छुट्टाछुट्टै निकाय बनाएर हवाइ सुरक्षालाई भपर्दो, विश्सनिय र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुपरिवेक्षण गर्न आवश्यक भएको भनेर निजी र सरकारी विमान सञ्चालक सहित प्राविधिकहरुले दिएको सुझाव पनि कार्यान्वयन हुननसकेको सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् ।

विमान दुर्घटनाका अनेक कारणहरूमा आंशिक रूपमा अचानक हुने मौसम परिवर्तनहरू र मानयिव त्रुटि बाहेक  अनुमान नै गर्न कठिन चट्टानी भूभागहरू  मानिएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९५५ अगस्टमा भएको पहिलो विमान दुर्घटना पछि हवाई दुर्घटनामा ९ सय १४ जनाको मृत्यु भएको छ ।

गत वर्ष जनवरीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यति एयरलाइन्सको विमान दुर्घटना हुँदा पाँच भारतीयसहित ७२ जनाको मृत्यु भएको थियो । त्यो जहाज मानवीय त्रुटिका कारण दुर्घटना भएको बताइएको छ । 

यती एयरलाइन्सको 9N–ANC ATR–72 विमान १५ जनवरी, २०२३ मा अवतरण गर्नु अघि पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएका थियो । जुन नेपाली आकाशमा १०४औं दुर्घटना थियो र मानवीय क्षतिको हिसाबले तेस्रो ठूलो थियो ।

सन् १९९२ को जुलाई र सेप्टेम्बरमा धेरै मानिसको ज्यान जाने गरी दुइवटा अन्तर्राष्ट्रिय विमान दुर्घटना भएका थिए । ती दुर्घटनाहरूमा थाई एयरवेज र पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका विमानहरू थिए, जसमा क्रमशः ११३ र १६७ जनाको ज्यान गएको थियो ।

त्यसैगरी २९ मे, २०२२ मा हिमाली जिल्ला मुस्ताङमा तारा एयरको विमान दुर्घटना हुँदा एक भारतीय परिवारका चार सदस्यसहित २२ जनाको मृत्यु भएको थियो ।

सन् २०१६ मा एउटै रुटमा उडेको एउटै एयरलाइन्सको विमान टेकअफपछि दुर्घटना हुँदा त्यसमा सवार सबै २३ जनाको मृत्यु भएको थियो ।

मार्च २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बंगला एयरको विमान दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । त्यसमा ढाकामा अध्ययन गर्दै रहेका धेरै नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
 

प्रतिक्रिया