काठमाडौँ। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुर्गमका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले तल्लो र दुर्गमका जनतालाई लक्षित गरी योजना बनाउनुपर्ने बताएका हुन्।
“म पनि दुर्गमबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, हामीले पठाएको रकम दुर्गममा बस्ने तल्लो वर्गलाई नपुगेको हुनसक्छ, हामीले पठाएको योजना पुग्यो कि पुगेन त्यसको अनुगमन भएको छ कि छैन, यसमा केन्द्रले विशेष चासो दिनुपर्छ”, उनले भने।
ऊर्जामन्त्री खड्काले विद्युत्को विकास नभएको तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जाको ज्यादै महत्व रहेको स्मरण गर्दै अझै पनि कतिपय स्थानमा वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उल्लेख गरे। उनले तल्लो वर्गका जनतालाई कसरी निःशुल्क ऊर्जा वितरण गर्न सकिन्छ त्यसतर्फ केन्द्रले अध्ययन गर्नुपर्ने बताए।
मन्त्री खड्काले लक्षित वर्गका लागि खर्च गर्ने रकम कमी हुँदा समस्या भएको उल्लेख गरे। तल्लो वर्गका मानिस आर्थिक र सामाजिक हिसाबले सबल नभएसम्म देश विकास हुन नसक्ने उनले बताए।
मन्त्रालयका सचिव सरिता दवाडीले दिगो विकासको लक्ष्य हासिल गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताईन्। उनले विद्युतकाे पहुँचभन्दा बाहिर रहेका जनतालाई ऊर्जा प्रदान गर्नका लागि नवीकरणीय उर्जाको व्यवस्था गरिएकाले यसलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरिन।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले विभिन्न निकायको समन्वयमा दुर्गममा रहेका जनतालाई नवीकरणीय ऊर्जा पुर्याउनका लागि काम गरिरहेको बताए।
उनले खाना पकाउने स्वच्छ ऊर्जा कार्यक्रमअन्तर्गत स्थानीय तहसँगको लागत साझेदारीमा विद्युतीय चुलो, बायोग्यास र सुधारिएको चुलोको प्रवर्धन तथा विस्तार गरिएको जानकारी दिए। केन्द्रले साना, लघु जलविद्युतलाई मर्मतसम्भार गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल गरिरहेको छ। (रासस)
प्रतिक्रिया