विश्वव्यापी गजल प्रतियोगिता २०८१ आयोजन हुँदै

काठमाडौँ। नेपाली वाङ्मयको लोकप्रिय विधा गजलको उन्नयन र पूर्णताको निमित्त समर्पित संस्था ‘नेपाल गजल प्रतिष्ठान’ द्वारा १५९ औँ मोति जयन्तीको शुभ अवसरमा ‘विश्वव्यापी गजल प्रतियोगिता २०८१’ आयोजना गरिने भएको छ। यस प्रतियोगितामा संसारभरका गजलप्रेमीहरूलाई सहभागी हुन प्रतिष्ठानले आग्रह गरेको छ।

प्रतियोगितामा सहभागी हुन चाहाने गजलकारहरूले आफ्नो प्रतियोगी गजलको साथमा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख गरी २०८१ श्रावण २५ गतेसम्म निम्न लिखित ई–मेल ठेगाना [email protected] पठाइसक्नुपर्ने बताइएको छ। प्रतियोगी गजल शुद्ध नेपालीभाषामा (देवनागरी लिपिमा) लेखिएको ५ शेरको हुनुपर्ने र कुनै पनि शेरमा गजलकारको नाम वा तखल्लुस् प्रयोग गर्न नपाइने साथै गजल पठाउँदा गजलको साथमा कुनै पनि भूमिका, आग्रह तथा अनुरोध समावेश नगर्न सूचित गरिएको छ।

गजल पूर्णत: मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित र प्रसारित नभएको, कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने बताइएको छ। प्रतियोगी गजलको कुनै अंश वा पूरा भाग साभार गरिएको, छापिएको, प्रसारित भएको वा अन्य कुनै पनि प्रतियोगितामा सहभागी भएको पाइएमा यस प्रतियोगिताका लागि अयोग्य मानिने छ भने विजयी रचनामा यसप्रकारको दाबी विरोध भई आएमा गजल खारेज गरी उत्कृष्टता क्रममा रहेको गजल विजयी मानिने जनाइएको छ।

[email protected] को ठेगानामा प्राप्त भएका गजलहरू मात्रै प्रतियोगी गजल मानिनेछ। एउटा प्रतियोगीले एउटा मात्र गजल पठाउन अनुरोध गरिएको छ। एउटै गजलकारको एक भन्दा बढी गजल सहभागिताका लागि प्राप्त भएमा पहिलो पटक प्राप्त एउटा गजललाई मात्र प्रतियोगी गजल मानिने छ।

गजल मूल्याङ्कनका आधार विचार, शिल्प, शैली, व्याकरण भाषा लगायत गजलका आधारभूत सबै मान्यताहरूको पालना गरी रचना गरिएको गजलमात्र प्रतियोगिताको लागि योग्य मानिने बताइएको छ। गजल मूल्याङ्कनका लागि ३ जना गजलमर्मज्ञ निर्णायकहरूको गोप्य निर्णायक समिति समेत रहेको छ। यो प्रतियोगितामा ‘नेपाल गजल प्रतिष्ठान’ कार्यसमितिका सदस्यहरूबाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहनु भएका इच्छुक नेपाली भाषी गजलकारहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्। प्रतियोगिताको नतिजा २०८१ भाद्र १५ गतेका दिन सार्वजनिक गरिने बताइएको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने विजेता गजलकारको कृति र गजल सङ्ग्रह प्रकाशन गरिनेछ। उत्कृष्ट ५ गजलकारहरूलाई तथा प्रमाणपत्रद्वारा सम्मान गरिनेछ। विजयी गजलकारले प्रतियोगिता समापन भएको मिति देखि ६ महिना भित्रमा सङ्ग्रहका लागि आवश्यक गजलहरू आयोजक समितिले उपलब्ध गराउने ठेगानामा र प्रतिनिधिलाई पठाइसक्नु पर्नेछ। गजलहरू तोकिएको समय अगावै प्राप्त भएमा सोही अनुरुप सम्पादन तथा प्रकाशन कार्य अगाडि बढाइनेछ।

पुरस्कार स्वरूप प्रकाशन गरिने सङ्ग्रहमा सङ्गृहीत हुने रचनाहरू पनि गजलका सबै आधारभूत मान्यताहरू पालना गरी लेखिएको हुनुपर्नेछ र प्राप्त गजलहरूमा आवश्यक सम्पादन कार्य सर्जकलाई जानकारी दिई नेपाल गजल प्रतिष्ठानबाट गरिने बताइएको छ।

प्रतिक्रिया