सबै मन्त्रालय र योजना आयोगको जानकारी लिँदै प्रधानमन्त्री

काठमाडौं । विश्वासको मत पाएको एकसातापछि प्रधानमन्त्री  केपी शर्मा ओलीले मन्त्रीपरिषदका सदस्य र सचिवहरुको संयुक्त बैठक बोलाएका छन् । प्रधानमन्त्रीले विभिन्न मन्त्रालयका सचिवबाट जानकारी लिइरहेका छन् ।

सिंहदरबारमा भैरहेको बैठकमा प्रधानमन्त्रीले विभिन्न मन्त्रालयले गरिरहेका कामको बारेमा विस्तारमा जानकारी लिइरहेका छन् ।

बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी छन् ।

प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सहित सदस्यहरूसँग सरकारका प्राथमिकताबारे चर्चा गर्ने र तिनको कार्यान्वयन सरल तरिकाले गरेर सेवा प्रवाह सर्वशुलभ बनाउन निर्देशन दिनेछन् । 

प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई बोलाएका हुन् ।

वर्षायाम भएकाले बाढी पहिरोबाट भएको जनधनको क्षति, उध्दारमा विलम्व र खेतिपातीका आवश्यक मलबिउबिजनको अभाव तत्कालका जल्दाबल्दा बिषय हुन् । सरकारका सम्बन्धित मन्त्रालयहरुले यी महत्वपूर्ण सेवा प्रवाहमा सुधार ल्याउने र पूर्व तयारी गर्ने योजना नबनाएकाले जनताले सदैव पीडा भोग्नुपरिरहेको छ भनेर संसदमा प्रश्न उठिरहेको छ । 

यस्तो समयमा प्रधानमन्त्रीले राज्य सन्यन्त्रको नेतृत्व वर्गलाई एकै ठाउँमा राखेर दिने निर्देशनले जनतालाई दिने नियमित सेवामा सुधार आउने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया