लेखनाथ। पोखरामा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पुर्याउने बित्तिकै पौने १० बजे मृत्यु भएको हो।
आरतीका छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि उपचारका क्रममा ११ : ४५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ। बसमा ३० जना सवार रहेकोमा बाँकी २८ जनाको पोखराका तीन अस्पतालमा उपचार हुँदैछ।
पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो। ग१क ६२१९ नम्बरको बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ। बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी ३० जना सवार थिए ।
घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहनकुमार थापाको कमान्डमा ५५ जना प्रहरी उद्धारमा खटिएका थिए।
केही विद्यार्थीको अवस्था गम्भीर छ। अहिले गण्डकी मेडिकल कलेजमा पोखरा २१ कृस्तीकी ९ वर्षीय अनमोल विक, वर्ष ५ का रोशन बराल, वर्ष १४ का दिप्सन कार्की, वर्ष ६ की योना गुरुङ, वर्ष १३ की डिना गुरुङ, वर्ष १५ की प्रकृति गुरुङ, वर्ष ६ का प्रिन्स राना, वर्ष ७ की चिजा विक, वर्ष ९ का प्रवेश कार्की, वर्ष १२ की बिसिका पौडेल, वर्ष ११ की विश्वास पौडेल, वर्ष १२ की सिम्रन विक र वर्ष ११ का विवश खत्रीको उपचार भइरहेको छ।
यसैगरी मणिपाल शिक्षण अस्पतालमा तीन जनाको उपचार भइरहेको छ। पोखरा २१ का ८ वर्षीय निशान सुनार र सोही ठाउँका ५ वर्षीय सागर थापाको उपचार मणिपालमा हुँदै छ। बसका चालक पोखरा–१७, विरौटा बस्ने ५५ वर्षीय टेकबहादुर भुजेलको पनि सोही अस्पतालमा उपचार हुँदैछ। भुजेलको अवस्था खतरामुक्त छ।
बाँकी १२ घाइतेको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार हुँदै छ। पोखरा २१ की अनन्या पौडेल, वर्ष ३ की सिमन मगर, वर्ष ३ का न्युजन मगर, वर्ष ७ का रिजन मगर, वर्ष १२ का रामकृष्ण नेपाली, वर्ष २ का अंकित खत्री, वर्ष १४ की सीतादेवी विक, वर्ष ७ का अस्मित विक, वर्ष ३० की सुमित्रा सुनार, वर्ष २द का निर्दाेष सुनार र वर्ष ११ का निश्चल सुनार पनि घाइते भएका छन्।
१४ वर्षीय सीतादेवी विक अर्कै विद्यालय छोरेपाटन माविकी विद्यार्थी भएको खुलेको छ। ३० वर्षीया सुमित्रा सुनार एलपी स्कुलकी अभिभावक हुन्। सोही घटनामा घाइते एलपी स्कुलकी शिक्षक ३० वर्षीया सपना आले पनि घाइते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले ओरालो बाटोको घुम्तीमा दुर्घटना भएको उल्लेख गर्दै चालकले बसमाथि नियन्त्रण गुमाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको सुनाए। उद्धारमा आफैं खटिएका थापाले भने, “भीरालो, घुम्ती बाटोमा चालकले निणन्त्रण गुमाउँदा बस खसेको देखिन्छ। अन्य लापरवाही वा मादक पदार्थ सेवन गरेको देखिएन।”
प्रतिक्रिया