किन फिर्ता लिए कृष्णमानले आफ्नो नाम ?

काठमाडौं । यौनशोषण्को आरोप लागेर विवादित बनेका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानले आजै ५ बजे बस्नेगरी स्थगित भएको संसदीय विषेश सुनुवाई समितिको सम्भावित निर्णय अघि नै नाम फिर्ता लिएका हुन् ।

प्रस्तावित आयुक्त प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने–नगर्नेबारे निर्णय लिन साँझ ५ बजे संदीय सुनुवाइ विशेष समितिको बैठक बस्ने कार्यसूचि थियो ।

प्रधानले समितिमा निवेदन दिएर आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ता लिन निवेदन दिएसँगै उनको अनुमोदनबारे निर्णय लिन बस्ने समितिको बैठक स्थगित भएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रधानबारे समितिमा यौन दुराचारसम्बन्धी गम्भीर उजुरी परेको थियो । उच्च नैतिक चरित्रको नभएको भन्दै उनको नाम अनुमोदन नगर्न समितिसमक्ष दबाब बढेको थियो ।

आज बिहान ११ बजेका लागि बोलाईएको बैठक विवादबीच सारिएको थियो । बैठक सारेर सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरू आन्तरिक छलफलमा जुटेका बेला प्रधानले नाम फिर्ता लिएका हुन् ।

प्रधानबारे उनकै कार्यालयमा कार्यरत महिलाले यौन शोषण गरेको आरोप लगाएकी थिइन् । पूर्व सहकर्मीले आफूलाई लामो समयदेखि यौन शोषण गरेको भन्दै समितिमा उजुरी दिएकी थिइन् ।  
 

प्रतिक्रिया