प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालले अभिनय गरेको चलचित्र आउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गएको सप्ताहान्तमा खुरुखरु काठमाडौंको अनामनगर धाए । उनी धाउनुको एकमात्र कारण थियो कुनै परोपकारी चलचित्रमा आफ्नो आवाज रेकर्ड गराउन । उनले दुइदिन धाएर चलचित्र ‘नमेटिने घाउ’ का लागि आफ्नो आवाज रेकर्ड गराएका छन् ।

अनामनगरको मुख्य सडक र सहायक सडकमा दिनदिनै कडा सुरक्षा पहरा देखेर मानिसहरु सतर्क बनेका थिए । तर जब प्रधानमन्त्रीको सवारी चल्यो अनि थाहा भयो त्यसको खास कारण ।  

प्रधानमन्त्रीले धाईधाई आवाज रेकर्ड गराउनु पर्ने कारण रहेछ एसिड आक्रमणमा परेकी ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उनले केही समय अगाडि अभिनय गरेका थिए । “एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरुको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । तपाईंहरुले एसिड आक्रमणविरुद्ध सञ्चालन गर्नुभएको अभियानलाई निरन्तरता दिनुहोस्”, यस्तै संवादमा प्रधानमन्त्री ओलीले आवाज भरेका छन् ।

चलचित्रका निर्देशक तथा अभिनेता रमित ढुङ्गानाले दिएको जानकारी अनुसार, चलचित्रमा अभिनयका लागि आफूले गरेको अनुरोधलाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेका थिए ।

“प्रधानमन्त्रीज्यूले कला क्षेत्रलाई गर्ने मायाको यो एउटा सानो उदाहरण हो । व्यस्त तालिकाबाट चलचित्रमा स्वराङ्कन गर्नुभयो । यस चलचित्रले एसिड आक्रमणमा पर्नुभएकी किशोरीहरूलाई आत्मबल प्रदान गर्नुका साथै यो यस्ता अपराध नगर्न सचेतना बढाउँछ”, निर्देशक ढुङ्गानाले भने। 

चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभियन गरेका छन् । 

शिवम् अधिकारीको कथा लेखन रहेको चलचित्रमा  मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गरेका छन् । 

प्रतिक्रिया