ढाका । परराष्ट्र मन्त्री आरजु राणाले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीहरुको अवस्थाबारे त्यहाँस्थित राजदूतसँग जानकारी लिएकी छन् । आज उनले त्यहाँ जारी विद्यार्थी आन्दोलन झनै चर्किदैँ गरेको अवस्थामा सुरक्षाको अवस्था हेरेर आवश्यक निर्णय गर्न दूतावासलाई निर्देशन दिएको बताएकी छन् ।
ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको छ । आज विज्ञप्ती जारी गर्दै दूतावासले बंगलादेशमै रहेका करिब ४ सय विद्यार्थीसहित नेपालीहरू सुरक्षित रहेको र आन्दोलनबाट प्रभावित भएका अधिकांश नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेको जानकारी दिएको छ ।
विद्यार्थीको आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रर्दशन भइरहेको, बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यू आदेश समेत जारी भएको लगायतका जानकारी गराउँदै दूतावासले नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सेना प्रमुखको सन्देश आउने
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको छ ।
आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।
सेनाका प्रवक्ता रशेदुल आलमले भने, “जनरल वाकरले दिउँसो २ बजे देशबासीका नाममा सम्बोधन गर्नुहुनेछ ।”
प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन सुरू गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आइतबार एकै दिनमा धेरै जनाको ज्यान जानेगरी झडपहरू भएपछि बङ्गलादेशको सुरक्षाकर्मीले सोमबार बिहानैदेखि राजधानी ढाकामा गस्ती सुरू गरेको छ । एएफपी
प्रतिक्रिया