बङ्गलादेशमा राजनीतिक संकट: प्रधानमन्त्री हसिना भारतको शरणमा, सेनाले अन्तरिम सरकार बनाउँदै

बङ्गलादेश । बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले देशवासीलाई सम्बोधन गर्दै बङ्गलादेशमा सेनाको नेतृत्वमा अन्तरिम सरकार बन्ने घोषणा गरेका छन् । 

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समयमा सेना प्रमुख जमानले आज अपरान्ह सम्बोधन गर्दै सेनाले सत्ता लिएको घोषणा गरेका हुन् । उनले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको जानकारी दिँदै अब नयाँ अन्तरिम सरकार गठन गरिने बताए ।

“हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ । हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ । हामीलाई विश्वास गर्नुहोस्,” उनले भनेका छन् ।

सेना प्रमुखले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको भन्दै आजसम्म एउटा “समाधान निस्किने’’ अपेक्षा गरेको बताए । यद्यपि कसले अन्तरिम सरकारको नेतृत्व गर्छ भन्ने स्पष्ट हुन बाँकी छ ।

प्रधानमन्त्री हसिनाले देश छाडेपछि उनले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गरे। ठूलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन् ।

तर बङ्गलादेशका सेनाप्रमुखले विगत केही सातामा सयौँ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले गरिरहेको “न्यायको माग’’ सम्बोधन गरिने पनि बताए।

उनले शान्ति सुव्यवस्था कायम सघाउन आग्रह गर्दै द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ सरकार गठनका लागि सेनाप्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरिरहेका छन् ।

यसैगरी, बिबिसी बंगला सेवाका अनुसार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि सँगै छिन् । 

प्रधानमन्त्री हसिना हेलिकोप्टरमा भारतीय शहर अगरतला प्रस्थान गरेको बिबिसी बंगलाले जनाएको छ । साथै रोएटर्सले सैनिक हेलिकोप्टर चढेर उनी र उनको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री हसिनाको सरकारी निवासमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेको खबर छ ।

सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए ।

टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ । केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ । केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको पनि देखिन्छ ।

सोमबार बिहानैदेखि ढाका विश्वविद्यालय, बङ्गलादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको थियो ।

ढाकानजिकै जात्राबारी क्षेत्रमा सोमबार पनि हिंसात्मक झडप भएको छ । ढाका ट्रिब्यूनले छ जना मारिएको जनाएको छ भने ‘प्रोथोम आलो’ले गोली लागेर तीन जनाको ज्यान गएको उल्लेख गरेको छ । मारिने प्रहरी वा प्रदर्शनकारी को हुन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया