वायनाड पहिरो: मृत्यु हुनेको संख्या ४०२ पुग्यो

काठमाडौँ। केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४०२ पुगेको छ। जसमध्ये १ सय ८१ जनाको मात्रै शव फेला परेको थियो। १८० जना अझै बेपत्ता छन्। खोज अभियानको आज (अगस्ट ६) आठौं दिन हो।

उद्धार टोलीले आज सोचीपाराको सनराइज भ्याली क्षेत्रमा खोजी गर्नेछ। त्यो यस्तो दुर्गम क्षेत्र हो, जहाँ अहिलेसम्म उद्धार कार्य भएको थिएन। वायुसेनाको हेलिकप्टरबाट टोली यहाँ पुग्नेछ। प्रभावित क्षेत्रलाई ६ जोनमा विभाजन गरी खोजी कार्य भइरहेको छ।

त्यहाँ पुथुमालामा पहिरोमा परी मृत्यु भएका २९ अपरिचित व्यक्ति र १५४ जनाको सोमबार राति सामुहिक दाहसंस्कार गरिएको छ। उनिहरूको आत्माको चिरशान्तिको कामना गर्दै आज मंगलबार सर्वधर्म प्रार्थनाको आयोजना गरिएको छ।

वायनाडमा, मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझा गाउँहरूमा २९-३० जुलाई बिहान २ बजे र ४ बजे पहिरो गएको थियो। घर, पुल, सडक र सवारी साधनहरु बगेका छन्।

पीडितले भन्छन्: एकै रातमा परिवारका १६ जना गुमाए

वायनाडको चुरलमालामा बस्ने ४२ वर्षीय मन्सुरले भने- म त्यो दिन घरमा थिइनँ। मैले एकै रातमा परिवारका १६ सदस्य गुमाएँ। हालसम्म ४ जनाको मात्रै शव फेला परेको छ। छोराको शव फेला परेको छ। छोरी सहित १२ जना बेपत्ता छन्। यो घटनामा मेरो परिवार, मेरो घर, सबै हरायो। मसँग केही बाँकी छैन। म हाल मेरो भाइ नासिरसँग बस्छु।

पहिरो स्थलबाट टाढा बस्ने मन्सुरका भाइ नासिरले घटना हुनुअघि अधिकारीहरूले कुनै चेतावनी नदिएको बताए। पानीको सतह बढ्दै गएपछि मैले भाइको परिवारलाई मेरो घरमा आउन आग्रह गरें। उनीहरुले आफूहरु सकुशल रहेको बताएका छन् तर यो विपत्तिमा अहिले सबै हराएको छ।

प्रतिक्रिया