टीआरसी विधेयक: कार्यदलले तीन प्रमुख दलका नेतालाई आज प्रतिवेदन बुझाउँदै

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउने जिम्मेवारी पाएको राजनीतिक कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने भएको छ । 

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबीच सहमति जुटिसकेकाले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन लागिएको गृहमन्त्री निकट सूत्रले बताएको छ ।  


एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ११ बजे प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउने कार्यक्रम तयार गरिएको छ ।

गत बिहीबार तीन दलका तीन शीर्ष नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा प्रमुख दलहरु सहमत भएका थिए ।

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको हो । पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको हो ।

विधेयकलाई संसदको यही अधिवेशनबाटै पारित गरेर कार्यान्वयनमा लगिने दलहरुको तयारी छ । सङ्क्रमणकालीन न्यायका मुद्दाहरु सबै पीडितले न्याय पाउने र पीडकलाई कानुनको दायरामा ल्याउने बिषयमा दलहरु सहमत भएका छन् ।

प्रतिक्रिया