संसदीय समितिमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको राजीनामा मागियो

काठमाडौं । लगातार भैरहेको हवाई दुर्घटनामा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण गैरजिम्मेवार देखिएको टिप्पणी गर्दै महानिर्देशक प्रदिप अधिकारीलाई तत्काल निलम्बन गरेर छनबिन गर्नुपर्ने माग संसदीय समितिमा गरिएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संसदहरुले प्राधिकरणले हवाई दुर्घटनापछि आफ्नो कर्तव्य पूरा नगरेको भन्दै चर्को आलोचना गरेका थिए । हिजो बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न प्राधिकरणका जिम्मेवार पदाधिकारीलाई निलम्बन गर्नुपर्ने सांसदको माग थियो । 

समितिले प्राधिकरणका महानिर्देशक अधिकारीलाई स्पष्टीकरणका लागि आज बोलाएको थियो । उनले आफ्नो विभागीय जिम्मेवारी भन्दा पनि हवाई सञ्चालक र चालक दलमाथि नै दोष थोपर्ने प्रयाश गरेका थिए । 

समितिका सदस्यहरुले भने यो दुर्घटनामा प्राधिकरण्् नेतृत्वले नैतिकता नदेखाएको भनेर राजीनामा गराई छानविन हुनुपर्ने माग गरेका थिए ।

सांसद धबल शम्शेर राणाले प्राधिकरणको नेतृत्व र माहतका कर्मचारीलाई निलम्बन गरेर कारबाही गर्नुपर्ने बताए । उनले प्राधिकरणले हेलिकप्टरलाई मेन्टिनेन्स पनि गर्ने ठाउँ पनि उपलब्ध गराउन नसक्ने नेतृत्वबाट हवाई सुरक्षा नहुने बताए । राणाले भने,’सम्बन्धित निकायका कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्नुपर्छ, यसमा मन्त्रीले निर्णय गर्नुपर्छ ।’

अर्का सांसद शिशिर खनालले पनि नियामक निकायकै कमजोरीले हवाई दुर्घटना बढेको बताए । उनले पर्यटन मन्त्री बद्री पाण्डेको ध्यानकर्षण गर्दै प्राधिकरण नेतृत्वमाथि कारबाही गर्ने प्रस्ताब ल्याउनुपर्ने बताए ।

अर्का सांसद प्रभु साहले देशको हवाइ क्षेत्र कमजोर भएको र हवाई क्षेत्र मान्छे मार्ने निकाय जस्तो भएको भन्दै भन्दै प्राधिकरण नेतृत्वसँग प्रश्न गरे । उनले कर्मचारी जवाफदेही नदेखिएकोले पनि महानिर्देशकले राजीनामा दिनु पर्ने बताए ।

‘मालपानी लिएर नियुक्ति गराउने अनि जिम्मेवार नलिने रु’ अहिले पदमा बसेको बेला भएकोले लिडर तपाईंहरु हो । उहाँहरुलार्इ कारबाही गर्नुस्’ साहले भने ।

अर्का सांसद राजेन्द्र बजगाईंले पनि धुलो बाहिर फाक्ने काम गर्नु पर्ने भन्दै कार्पेटभित्र राख्न नहुने बताए। प्राधिकरणका महानिर्देशक अधिकारीले हवाई क्षेत्र सुधारको काम गर्न नसक्ने भन्दै सांसद बजगाईंले उनको राजीनामा माग गरे । उनले भने, ‘अहिलेका डीजीले भैरहवामा एरोबीज नबनाइ एअरपोर्ट बनाए, पोखरामा रनवे नै धसाएर पानी ट्यांकी नै काट्नु पर्ने गरि काम गरे । यो काम हेर्दा क्यानको डीजी ठेक्कामा मात्रै लागे । उनलाई तत्काल बर्खास्त गनुपर्छ ।’

प्रतिक्रिया