काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको बल्खुस्थित क्यामेरा भवनमा पत्रकारिता अध्यापन गर्ने, नेतृत्व गर्ने, अध्ययन गर्ने र अभ्यास गर्ने तीनै थरीले नेपाली पत्रकारिताका विविध पक्षबारे खुलेर छलफल गरे । वरिष्ठ पत्रकार, पत्रकारिता क्षेत्रको नेतृत्व वर्ग, प्राज्ञिक वर्ग, एमफिल/पीएचडी र स्नातकोत्तर तह तेस्रो वर्षका विद्यार्थीहरू क्यामेरा भवनको नयाँ सभा हलमा यसरी छलफल गर्न जम्मा भएका हुन् ।
अप्टिमिस्ट इन्टरन्यासनल नेपाल डिष्ट्रिक्ट र यस केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागको सहकार्यमा शनिबार आयोजित 'रचनात्मक पत्रकारिता: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू' विषयक गोष्ठीमा यो अवसर जुटेको हो ।
गोष्ठीका सहभागीहरूले समाधानमुखी तथा सबै पाटा समेटिएको पूर्ण चित्रणयुक्त पत्रकारिता आजको आवश्यक भएको कुरामा जोड दिए । रचनात्मक पत्रकारिता समाधानमुखी, विविध पक्षका दृष्टिकोण र प्रजातान्त्रिक बहसरूपी तीन खम्बामा उभिएको कुरामा सहभागीहरूले जोड दिए । उनीहरूले आवश्यकता अनुसार विश्वविद्यालयले जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।
कार्यक्रममा शिक्षक मासिकका सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, वरिष्ठ पत्रकार डा. रघु मैनाली, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू विष्णु निष्ठूरी, शिव गाउँले र डा. महेन्द्र विष्ट, वरिष्ठ पत्रकार कपिल काफ्ले, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, नेपाल विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाई, पत्रकारिताका उपप्राध्यापकहरू डा. जगत नेपाल, डा. श्रीराम पौडेल, लेखनाथ पाण्डे, शिक्षक रामजी दाहाल, प्रेस काउन्सिलका कार्यकारी प्रमुख झविन्द्र भूषाल, खोज पत्रकार बाबुराम विश्वकर्मा, पत्रकार नवराज चालिसे, एमफिल प्रथम सेमेस्टरका सुजाता बस्नेत तथा स्नातकोत्तर तह तेस्रो सेमेष्टरका महेश पाण्डेले नेपाली पत्रकारिताका विविध पाटामा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा अप्टिमिष्ट इन्टरन्यासनल नेपाल डिस्ट्रिकका गभर्नर प्रकाश घिमिरेले रचनात्मक पत्रकारिताको अनुसन्धानमा छात्रबृत्तिको व्यवस्था गर्ने घोषणा गरेका थिए भने सो संस्थाका लेफ्टिनेन्ट गभर्नर ऋषिश्वर थपलिया र डिस्ट्रिक सेक्रेटरी प्रतापबहादुर थापाले रचनात्मक पत्रकारिताको आावश्यकताबारे औँल्याए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विभागीय प्रमुख डा. कुन्दन अर्यालले नयाँ भवनको हलमा पहिलो पटक कार्यक्रम आयोजना गरी पत्रकारिताका अध्येता, अध्यापक, नेतृत्व तथा अभ्यासकर्ताहरूलाई सँगै जुटाएर छलफल गर्न पाएकोमा खुशी प्रकट गरे । उनले विभागले आउँदा दिनमा यस्ता रचनात्मक कार्यक्रमहरू गर्दै जाने र नयाँ विषयवस्तुलाई पाठ्यक्रममा समेट्दै जाने घोषणा गरे । कार्यक्रमको सहजीकरण विभागका उपप्राध्यापक डा. घमराज लुइँटेलले गरेका थिए ।
प्रतिक्रिया