काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसद थापाले ती समुदायका अधिकारलाई संस्थागत गर्दै सङ्घीयतालाई अझ सुदृढ र समृद्ध बनाउनुपर्ने बताए।
सङ्घीयता, गणतन्त्र, समानुपातिक निर्वाचन प्रणालीलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिँदै सांसद थापाले पछाडि फर्किने छुट कसैलाई नभएको बताए। भुटानी शरणार्थी र सहकारी ठगीमा मुछिएकालाई कारबाही गर्नुपर्ने माग गर्दै सांसद थापाले असल काम गरेमा सरकारको प्रशंसा र गलत गरेमा आलोचना हुने बताए।
उनले सहकारी, मल र दुधको समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारसँग माग गरे। “प्रत्येक मन्त्रालयसँग जोडिएका साना-साना काम छन्, ती पूरा गर्न बेग्लै स्रोत साधन पनि चाहिँदैन माननीय मन्त्रीज्यूको इच्छाशक्ति भए पुग्छ, आवश्यक कानुन तत्काल निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले भने। वर्तमान सरकार गठन भएका बेला गरिएका सहमतिका आधारमा जनचाहना अनुसार काम हुनुपर्ने उनले बताए। उनले अनियमितता सम्बन्धी सबै फाइल खोलेर दोषीमाथि छानबिन हुनुपर्ने माग गरे। रासस
प्रतिक्रिया