चन्द्रकला भण्डारी, झापा । झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाले एक करोड ३० लाखको लागतमा २९ किलोमिटर लामो रमणीय पहाडी पदमार्ग निर्माण गरेको छ । मेची राजमार्गले छोएको रोङ गाउँपालिका–३ को हाँसपोखरीदेखि वडा नम्बर ६ को सिद्धिखोलासम्म रहेको पदमार्ग आन्तरिक पर्यटकलाई नै लक्षित गरेर विकास गरिएको गाउँपालिकाका प्रवक्ता मणिकुमार (सुवास) स्याङ्बोले बताए ।
इलाम जिल्लामा मात्र बसोबास गर्दै आएका लेप्चा समुदायको भाषाबाट सो पदमार्गको नाम ‘करसोङ (सुनाखरी)’ नामाकरण गरिएको छ । करसोङ पदमार्ग ४०० देखि एक हजार ८०० मिटरसम्मको उचाइमा रहेको छ । यो पदमार्गले इलामको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकासहित झापाको मेचीनगर नगरपालिकाको बाहुनडाँगीलाई समेटेको छ । इलामको हाँसपोखरीबाट सुरु हुने पैदलमार्ग गुगलडाँडा, झण्डीडाँडा, सलकपुरहुँदै झापाको बाहुनडाँगीमा आएर टुङ्गिएको छ ।
पदयात्रीलाई बाटोमा खाने र बस्ने घरबासको समेत सुविधा उपलब्ध छ । “कोभिड–१९ ले मानिसलाई स्वस्थ रहन र प्रकृतिसँग रम्न सिकायो”, पदमार्गले समेटेको वडा नं ६ को वडाध्यक्षसमेत रहेका रोङ गाउँपालिका प्रवक्ता स्याङ्बोले ने,“स्वास्थ्यका लागि पैदलयात्राको ठूलो महत्व छ । पर्यटक पहाडी पदयात्रा रुचाउछन् । त्यसैले पर्यटकीय विकासका लागि हामीले ठूलो लगानी गरेर यो पदमार्ग बनाएका हौं ।” पालिकाले पाँच वर्षभित्र पदमार्गमा विभिन्न पूर्वाधार निर्माण गरिसक्ने योजना बनाएको छ ।
कोभिड–१९ को महामारीपछि पर्यकीयस्थलमा बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । स्थानीय पालिकाले आफ्नो क्षेत्रका प्राकृतिकस्थलको खोजी गर्ने र थप संरचना बनाएर पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना धमाधम बढाइरहेका छन् । रोङ गाउँपालिकाले निर्माण गरेको यो पदमार्ग आन्तरिक पर्यटकमाझ लोकप्रिय बनिसकेको छ ।
पदमार्गस्थलमा नेपाली सेनाको सहयोगमा करिब २५ हजार लालीगुराँसको बिरुवा रोपिएको छ भने सडक छेउका रुखमा बाक्लै सुनाखरीका बिरुवा लगाइएको छ । लेप्चा भाषामा करसोङको अर्थ सुनाखरी फूल हो । आफ्नो भाषाबाट पदमार्गको नामाकरण गरिएकोमा लेप्चा समुदायसमेत खुशी छन् । पालिकाले पर्यटकीय पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यले झापा र इलामका करिब ४० जना पत्रकारलाई हाँसपोखरीदेखि झण्डीडाँडासम्मको करिब नौ किलोमिटर दूरीको पदयात्रा गराएको थियो ।
प्रवक्ता स्याङ्बोले पदमार्गलाई साइक्लिङका लागि पनि विकास गर्ने योजना रहेको सुनाए । उनले भने, “चाँडै साइक्लिङ रेस गराउँछौं, तयारी गरिरहेका छौं । निकट भविष्यमै सडक गुणस्तर सुधार गरेर साइक्लिङ रेस गराउने नेपालकै उत्कृष्ट ट्रयाक बनाउँछौं ।” पदमार्गको विभिन्न पाँच स्थानमा ग्रामीण घरबास सञ्चालन गरिएको छ । रम्यङ, सलकपुर, जौबारी, मजुवा र पाटापुरमा घरवास छ । जसमध्ये रम्यङ र सलकपुरमा कारितास नेपालको सहयोगमा घरबास सञ्चालन भइरहेका छन् ।
पर्यटन कार्यालय काँकरभिट्टाका प्रवक्ता निरोज कट्टेलले सो क्षेत्रमा पर्यटन प्रवद्र्धन र पुनःनिमाणका लागि आर्थिक सहयोग गरिरहेको बताए । पूर्वी नाका काँकडभिट्टाबाट नजिकैको स्थान रहेको हुँदा यसक्षेत्रबाट भित्रिने बाह्य पर्यटकलाई समेत पदमार्गमा आकर्षण गर्न सकिने उनले बताए । पर्यटन कार्यालयले पश्चिम बङ्गालसम्म पदमार्गको प्रचार गर्ने उद्देश्य राखेको उनले बताए ।
पूर्वी नाका हुँदै नेपाल आउने भारतीय पर्यटकलाई यहाँसम्म ल्याउन पहल गरिने भएको छ । कम्तीमा उनीहरुलाई एक दिन मात्रै बास बसाउने गरी आकर्षण गर्न सके मेचीनगरदेखि रोङ गाउँपालिकासम्मको आर्थिक विकासमा मद्दत पुग्ने पर्यटन कार्यालयका प्रमुख कट्टेलको धारणा छ । यङमा करिब तीन हजार ५०० लोपोन्मूख लेप्चा जातिको बसोबास रहेको हुँदा उनीहरुको सांस्कृतिक पहिचान पनि पर्यटकको आकर्षण बन्ने देखिएको छ ।
प्राकृतिक रुपमा पदमार्ग क्षेत्रनै सुन्दर रहेको छ । चरा चुरुङ्गीको बसोबाससमेत रहेको हुँदा चरा हेर्न पर्यटक आउने सम्भावना छ । पदमार्गको पुछारको क्षेत्र सलकपुर सुन्तला, अलैँची, एभोकार्डो र घरबासका लागि प्रख्यात छ । मेची नदीको नजिक रहेको सो क्षेत्रमा पाइने सुन्तला भारतको पश्चिम बङ्गालको राजधानी कोलकातामा समेत पुग्ने गरेको छ ।
सुन्तला खानकै लागि बर्सेनी यहाँ भारतीय बङ्गाली पर्यटक घरबासमा बस्ने गरी आउने गरेका छन् । यही पदमार्गमा रहेको झण्डीडाँडाबाट सूर्योदयको मनोरम दृश्य देखिने हुँदा यहाँ आउने पर्यटकले भरपुर मनोरञ्जन पाउने छन् । इलामको श्रीअन्तु जस्तै सूर्योदयको दृश्यावलोकनका लागि पर्यटक बिहानीपख यहाँ रमाउने गर्छन् ।
प्रतिक्रिया