इजरायली आक्रमणमा एकै दिनमा २५ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ। गाजामा इजरायली आक्रमणमा एकै दिनमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ। मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेका छन्। आक्रमणमा एक महिला र उनका ६ बालबालिकाको मृत्यु भएको थियो। गाजामा इजरायल र हमासबीच विगत ११ महिनादेखि युद्ध चलिरहेको छ। युद्धमा हालसम्म ४० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

अर्कोतर्फ गाजामा २५ वर्षपछि पहिलो पटक पोलियोको केस फेला परेको छ। मध्य गाजामा १० महिनाको बच्चालाई पोलियो भएको पत्ता लागेको छ। स्वास्थ्य मन्त्रालयले जोर्डनमा बच्चाको नमूना परीक्षण गरेपछि यसको पुष्टि गरेको हो।

यसअघि जुन महिनामा गाजामा पानीमुनि टाइप–२ पोलियो भाइरस भेटिएको थियो। यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकालाई खोप लगाउन युद्धविराम गर्न माग गरेका थिए।

इजरायली सेनाले गाजामा पोलियो खोपका लागि विश्व स्वास्थ्य संगठनसँग काम गरिरहेको बताएको छ। इजरायलले १३ लाख पोलियो खोप सङ्कलनमा व्यस्त रहेको बताएको छ ।

गाजामा ११ महिनादेखि युद्ध जारी 

इजरायल र हमासबीचको युद्ध भएको करिब ११ महिना बितिसकेको छ। गत वर्ष अक्टोबर ७ मा हमासका आतंककारीहरूले इजरायलमा आक्रमण गरेका थिए। यस आक्रमणमा करिब १२०० इजरायली नागरिक मारिएका थिए। आतंककारीहरूले गाजामा करिब २५० जनालाई बन्धक बनाएका थिए।

इजरायलका अनुसार १११ जना अझै हमासको बन्दीमा छन्। जसमा ३९ शव पनि परेका छन्। बन्धकमा १५ महिला र ५ वर्ष मुनिका २ बालबालिका रहेका छन्। अक्टोबर ७ को हमलापछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको थियो। यस युद्धमा अहिलेसम्म ३२९ इजरायली सैनिकको मृत्यु भइसकेको छ।

इजरायली सेनाका अनुसार उनीहरुले हालसम्म १५ हजार हमास आतंकवादीलाई मारेका छन्। युद्धका कारण गाजामा करिब १८ लाख मानिसले आफ्नो घरबार छोडेका छन्। इजरायल र दक्षिणी लेबनानका हजारौं मानिसहरूले पनि आफ्नो घर छाड्नुपरेको थियो।

५ लाख जनता भोकमरीको चपेटामा 

युद्धले गाजामा मानवीय संकट सिर्जना गरेको छ। इजरायली आक्रमणको चपेटामा परेका गाजाका नागरिकसामु भोकमरीको समस्या खडा भएको छ।

एक रिपोर्ट अनुसार गाजाका करिब ५ लाख जनताले आगामी महिनामा खाद्य संकटको सामना गर्नुपर्नेछ। यो संख्या गाजाको कुल जनसंख्याको झन्डै एक चौथाई हो।

रिपोर्टका अनुसार इजरायली हमलाले गाजाका ५९ प्रतिशत भवन ध्वस्त पारेको छ। उत्तरी गाजा मा यो संख्या ७०% भन्दा बढी छ।

प्रतिक्रिया