काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको प्रसंगमा चर्चा गरेका छन्।
आज यहाँ आयोजित विकासका लागि वित्त सम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले विकासोन्मुख र अल्पविकसित मुलुकहरुको आन्तरिक राजश्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको औंल्याए ।
उनको भनाईमा आन्तरिक श्रोतको अभावमा निजी पुँजी तथा विकास सहायता लगायत सम्भाव्य क्षेत्रको श्रोतको अधिकतम उपयोग गर्नेगरी विकासप्रतिको खाका तय गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
कुल गार्हस्थ्य उत्पादनका तुलनामा राजश्वको अनुपात तुलनात्मक रुपमा राम्रो देखिएपनि यसलाई दिगो बनाउनुपर्ने चुनौति रहेको भन्दै पौडेलले प्रत्यक्ष वैदेशिक लगानी र वाह्य क्षेत्रबाट आउने पूँजी प्रवाह तुलनात्मक रुपमा न्युन रहेको भन्दै उनले सार्वजनिक ऋणको भार बढ्दै गएकाले विकासका लागि श्रोतको जोहो गर्नेकुरा निकै चुनौतिपूर्ण बनेको छ ।
राजश्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकासका गतिविधिमा सरकारको लगानी संकुचित हुने अवस्था रहेको चर्चा गर्दै पौडेलले यसले दिगो विकासको लक्ष्य प्राप्ति गर्ने संकल्पलाई टाढा धकेल्ने चुनौती बढेको भन्दै नेपाल सरकारले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई नेतृत्वदायी भूमिकामा राखेको बताए।
सरकार निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न आवश्यक वातावरण बनाउन तयार रहेको बताउँदै उनले निजी पुँजी आकर्षित गर्नेगरी विकासको खाका निर्माण गर्ने भन्दै सरकार रोजगारीसहितको विकासको पक्षमा रहेको उल्लेख गरे।
उत्पादन क्षमता सुदृढिकरण, निर्यात प्रतिष्पर्धात्मकता, व्यापार वृत्तमा पहुँच, सीप हस्तान्तरण, कनेक्टिभिटी बजार पहुँच, व्यापार सहजीकरण र प्रविधि हस्तान्तरणमा केन्द्रित रहेर नवीन वित्तीय उपकरणहरु विकासको उपयोगका लागि निरन्तर साझेदारी सहयोग र अन्तर्राष्ट्रिय सहयोगका लागि सामुहिक रुपमा वकालत गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट प्रत्यक्ष रुपमा प्रभावित भएको बताए।
कार्बन उत्सर्जनमा नेपालको नगन्य योगदान रहेपनि गैरअनुपातिक असर परेको भन्दै उपप्रधानमन्त्रीले नेपाल विकास वृत्तका लागि नयाँ श्रोत र उपकरण छुट्याउनुपर्ने पक्षमा उभिएको बताए।
प्रतिक्रिया