प्रधानमन्त्री-सांसद प्रश्नोत्तर

प्रतिनिधि सभामा प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सम्बन्धका तिखा प्रश्नहरुको सामना गरेका छन् । कार्यक्षमतामाथि नै प्रश्न गरिएको एउटा र त्रिभुवन विश्व विद्यालयको सम्पत्ति भागबण्डा गर्न अर्को चर्को प्रश्न प्रधानमन्त्री समक्ष राखियो ।

प्रतिनिधि सभामा बिहीबार सांसदहरुले प्रधानमन्त्रीसँग सोझै प्रश्न सोध्ने समय निर्धारण गरिएको थियो । यही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री ओलीको कार्यक्षमतामाथि प्रश्न उठाईन् । 

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा छोटो समय शिक्षा मन्त्री रहेकी सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के भन्दै प्रश्न गरिन् ।

उनले भनिन्,'विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने, त्यो मन्त्रीहरूको परिषद्को कप्तान को ? प्रधानमन्त्री, दलीय राजनीतिले जडजड बनाएको दुई ठूला दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापक  संगठन र त्यसलाई सही दिशातर्फ लान्छु भनेर लागेका को ? प्रधानमन्त्री। साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन पुगेका अनेरास्वयुका नेताले परीक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुखदर्शन भयो। त्यसको माओ पार्टीका प्रमुख को ? अहिलेको प्रधानमन्त्री। शिक्षालयमा दल चाहिन्छ भन्ने को ? अहिलेको प्रधानमन्त्री। यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ ? बताइदिनुपर्यो भनिन् ।

त्यसैगरी स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले त्रिभुवन विश्व विद्यालयलाई एमाले र कांग्रेसको पार्टी कार्यालय बनाउन सल्लाह दिए । सांसद सिंहले त्रिभुवन विश्व विद्यालयलाई एमाले र कांग्रेसको पार्टी कार्यालय बनाउन सुझाएका थिए । 

उनले भने, 'त्रिभुवन विश्व विद्यालयको सम्पत्ति दुई दलले आधा आधा बाँड्नुस्। पार्टी कार्यालय बनाउनुस्। एमाले कांग्रेसले आधा आधा बाड्नुस किनकि विद्यार्थीलाई त विदेश लखेटिहाल्नु भयो। दुई दलको अहिले सरकार छ। यही मौका हो। त्रिभुवन विश्व विद्यालयको ३३ सय रोपनी जग्गा छ। आधा बाँड्नुस् र पार्टीको नाममा दर्ता गर्नुस्।' 


 

प्रतिक्रिया