राष्ट्रिय स्वतन्त्र पार्टीमा रडाको

पूर्व गृहमन्त्री लामिछानेलाई ‘अपराधी’ प्रमाणित गर्ने दावी

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार गरेको र राहदानी दुरुपयोग गरेकाले सप्रमाण उनलाई अपराधी पुष्टि गर्न सकिने राष्ट्रिय स्वतन्त्र पार्टीले कार्वाही गरेका पूर्व महासचिव मुकुल ढकालले लिखित रुपमै दावी गरेका छन् ।

रास्वपाले पदबाट मुक्त गरेका ढकालले सभापति लामिछानेका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने भन्दै लिखित जवाफ फर्काएका छन् ।

बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टाभित्र  स्पष्टीकरण माग्दै दोस्रो पटक पत्र काटेको थियो । पार्टीलाई लिखित स्पष्टीकरण दिँदै ढकालले सभापति लामिछाने माथि प्रतिप्रश्न गरेका छन् । ‘तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ ढकालले रास्वपालाई पठाएको पत्रमा उल्लेख छ ।

लामिछाने सहकारी ठगी, राहदानी दुरुपयोग र कीर्ते कार्यमा संलग्न रहेको आरोप ढकालको छ । सभापति लामिछाने गरेको ‘कुकर्म’को पर्दाफास गर्नु पार्टीको संस्थापक महामन्त्रीको हैसियतले कर्तव्य भएको ढकालले पत्रमा जिकीर गरेका छन् ।

लोकतान्त्रिक विधिले प्रश्न उठाउँदा कारबाही गर्ने कार्यले भविष्यमा बोल्ने हिम्मत कसैले गर्न नसक्ने अवस्था बनेको भन्दै ढकालले भनेका छन्, ‘आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् ।’

ढकालले पत्रमा लेखेका छन्, ‘पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हो, पार्टी विपरीत म होइन तपाईँ लाग्नु भएको छ ।’Mukul-Spastikaran
 

प्रतिक्रिया