बरहथवा (सर्लाही)। पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन्। हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान्। निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन्।
झाडीमा उम्रिने यस वनस्पति कुनै औषधि तथा विषादीविना उत्पादन हुने भएकाले लाभदायक हुन्छ। वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी नलाग्ने यहाँका स्थानीय बताउँछन्। लगानी नलाग्ने भएका कारण निगुरोको पोषण र स्वाद जस्तै आम्दानी लोभलाग्दो छ। सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्ये आम्दानी गरिरहेका छन्। विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन्।
जिल्लाको बरहथवा नगरपालिका–९, मूर्तिया निवासी सविता कुशवार दैनिक बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्छिन्। निगुरो राम्रो भेटिएको दिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको उनले बताईन्। “यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुन्छ”, उनले भनिन्, “दिनको सात सयसम्मको निगुरो टिप्ने गरेको छु।”
फुर्सदको समय सदुपयोग गरेर निगुरो टिप्दा घर खर्च चलाउन निकै सजिलो भएको उनले बताईन्। वर्षमा सात महिना लगभग टिप्दा ८० देखि ९० हजारसम्म एक जनाले कमाउने गर्छन्। निगुरो टिप्न घरमा भएका सबै उमेर समूह वन पस्ने गरेका अर्का स्थानीय दीपक लामाको भनाइ छ। देख्दा निगुरो टिप्ने त हो नी भन्ने लाग्छ। तर आम्दानीको राम्रो स्रोत बनेको उनि बताउँछन्।
बरहथवा–९, मूर्तियाका कर्णबहादुर कुशवारले पनि विगत सात वर्षदेखि निगुरो टिप्ने गरेको बताए। “राम्रो उत्पादन भएको समयमा दिनमा ५० मुठासम्म टिपेको छु”, उनले भने, “यसको मूल्य सधैँ एकनास रहन्छ। धेरै घटबढ गर्दैन”, बिहान बेलुका निगुरो टिप्नेले वन भरिने गरेको छ।
सोही स्थान बस्ने फूलमाया तामाङको दैनिकी पनि उस्तै छ। छिटोछिटो टिप्ने भएकाले दिनमा सात सयसम्मको निगुरो टिपेर बेचेको फूलमायाले बताईन्। “फुर्सदका समयमा गाउँका बुढापाकादेखि बालबालिका सबै निगुरो टिप्न वन पस्छन्”, उनले भनिन्, “दैनिक बिहानबेलुका दुई÷चार घण्टा खट्दा राम्रो कमाइ हुन्छ।” निगुरो टिप्ने काम जागिर भएको उनले बताईन।
गाउँघरमा पनि चाडबाड तथा भोजभतेरमा निगुरोको माग हन्छ। “गाउँतिरै पनि खोज्ने मान्छे आउछन्”, उनले भनिन्, “व्यापारीलाई पनि अझै पुगेको छैन्।” टिप्न सकेजति व्यापारीले लैजान्छन्। व्यापारीहरुले निगुरो बुझाएलगत्तै वा पछि एकमुष्ट मागको सयम पैसा दिने गरेका स्थानीयको भनाइ छ।
“बसिरहनुभन्दा वनमा निगुरो खोज्यो”, उनले भनिन्। “पैसामा पनि हुन्छ। निगुरो बेचेर बचत गरेको पैसाले आपत्विपतमा गर्जोटार्नदेखि औषधि उपचारमा सहयोग पुगेको स्थानीय नानीमैया कार्कीले बताईन्। “निगुरो टिप्न थालेदेखि दुई चार रुपैयाँका लागि कसैलाई भन्नुपरेको छैन”, उनले भनिन्, “त्यस्तो दुःख पनि हुन्न। केही घण्टा खट्ने हो। दुई चार सय भइहाल्छ।” यसले ठूलो भरथेग भएको उनले बताईन्। मीठो मसिनो खान, औषधि उपचार र घरखर्च नै धानेको छ।”
यस क्षेत्रबाट विगत १० वर्षदेखि निगुरो टिप्ने सङ्कलन गर्ने र काठमाडौँका बजारसम्म पु¥याउने गरेको व्यवसायी सुनिता महतोले बताईन्। उनका अनुसार सुरुमा स्थानीयले निगुरो टिपेको प्रतिमुठा पाँच रुपियाँ पाउँथे। अहिलो जोडी मुठाको रु. २५ पाउँछन्। निगुरोसँगै अन्य मौसमअनुसारको तरकारी ढुवानी गर्ने गरेको उनले बताईन् । सङ्कलित निगुरो बजारसम्म लैजाने व्यवस्था सुनिताका श्रीमान् धनेश्वर महतोले गर्ने गरेका छन्।
यस क्षेत्रका ३६/३७ परिवारले दैनिक निगुरो टिपेर ल्याउने व्यवसायी धनेश्वरले जानकारी दिए। “दैनिक १२ देखि १५ बोरासम्म निगुरो काठमाडौँ पुर्याउँछु”, उनले भने, “एक बोरामा ८० मुठा हुन्छ। दैनिक हजार मुठा जति सङ्कलन हुन्छ।”
निगुरो टिपेर मूर्तिया क्षेत्रका स्थानीयले गत वर्ष लगभग सात महिनाको अवधिमा रु. ३० लाख आम्दानी गरेका कृषि ज्ञान केन्द्रका एक अधिकारीले बताए। मासिक चार लाख बराबरको निगुरो स्थानीयसँग सङ्कलन गरेर बजारमा लैजाने गरेको उनको उद्यमी महतोको भनाइलाई आधार मानेर उनले त्यति रकम आर्जन हुने अनुमान सुनाएका हुन्। ठूलो परिवार भएका घरका स्थानीयले महिनामा रु. एक लाखसम्मको निगुरो टिप्ने गरेका उद्यमी महतोले बताए। रासस
प्रतिक्रिया