गण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्

लेखनाथ। मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। सोमबार नेकपा (एमाले)बाट चार मन्त्री थपिएपछि नौ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको हो। 

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डे गएको जेठ १६ गते सर्वाेच्च अदालतको परमादेश बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। पाण्डेलाई अहिले गण्डकी प्रदेश सभाका ८८ प्रतिशत सदस्यको समर्थन छ। ६० सदस्यीय प्रदेश सभामा अहिलेको सरकारलाई नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, स्वतन्त्र सांसद राजीव गुरुङ, नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र राष्टिय प्रजातन्त्र पार्टी(राप्रपा)का दुई सांसद गरी ५३ सांसदको समर्थन छ। 

सरकारमा नगई पाण्डे सरकारलाई विश्वासको मत दिएको राप्रपाले अहिलेसम्म सरकारलाई समर्थन कायमै राखेको छ। स्वतन्त्र सांसद गुरुङ र नेपाल समाजवादीका सांसद देवकोटालाई कांग्रेसले आफ्नै कोटाबाट मन्त्रीमा निरन्तरता दिएको हो। 

सङ्घमा नेकपा (एमाले) र कांग्रेसको संयुक्त सरकार बनेको करिब दुई महिनापछि गण्डकीमा दुई तिहाइ भन्दा बढीको समर्थन रहेको सरकार बनेको छ। एमालेबाट थपिएका मन्त्रीहरुले सोमबारै प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्। 

संसाद पद्मा जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएकि छिन्। बागलुङका संसाद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय र समानुपातिकबाट सांसद बनेका कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाएका छन्। सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ। स्वतन्त्र सांसद गुरुङको मन्त्रालय हेरफेर गरेका मुख्यमन्त्रीले नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई भने पुरानै मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मन्त्रिपरिषद्मा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी डा टकराज गुरुङ र विन्दुकुमार थापा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री छन्। आइतबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या सातबाट बढाएर नौ पुर्‍याएकाे थियो।

प्रतिक्रिया