सभापतिको उम्मेदवार बन्ने शशांकको घोषणा

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा शशांक कोईरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।

सोमवार काठमाडौंमा आफ्ना पिता विश्वेश्वरप्रसाद कोईरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कान्छा सुपुत्र कोइरालाले सभापति पदमा उम्मेदवारी दिने बताएका हुन् । विपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने गरिएको सुनाउँदै कोइरालाले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको चर्चा गरे । ठूलो मान्छे नभइ असल मान्छे हुनु भन्ने पिता विपीको भनाई सम्झँदै उनले असल मान्छे हुन कठिन रहेको बताए ।

कोइरालाले भने, ‘विपीको छोरो हुने बित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँच चोटी त चुनाव जितेँ । त्यसलै यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ । मैले विपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो, ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ । त्यो पनि एकदम गाह्रो रहेछ फेरि । भन्दाखेरी कति सजिलो छ । असल बन्नु भनेको अत्यन्त गाह्रो हो । सबैको आधार, सम्मान गर्नुपर्छ । त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई । किनभने अरुहरुमा त्रुटी देख्छु । त्यसलाई कोट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन । त्यसैले गाह्रो छ ।’ (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया