काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न निर्देशन दिएका छन् ।
मंगलवार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्सानीको आधारमा नभइ उपलब्धीका आधारमा आकर्षित गर्नेगरी काम गर्न सल्लाह दिए । उनले कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको भन्दै कोषले सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको बताए। मन्त्री पौडेलले कोषले सकेसम्म न्युन जनशक्तिबाट अधिकतम काम गर्न पनि आग्रह गर्दैदक्ष र क्षमतावान जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिए।
नेपालमा रोजगारीको पनि आवश्यकता भएपनि अन्य क्षेत्रले रोजगारीको क्षेत्रमा काम गरिरहेको भन्दै पौडेलले प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको बताए। उनले संस्थाहरुले जनशक्तिलाई सेवा सुविधा, मर्यादा, इज्जत दिँदै कर्मचारीले आफ्नो भविष्य देख्नेगरी ढोका खोलिदिनुपर्ने बताए। कोषमा ५ सय दरबन्दी धेरै भएपनि अहिले ३७१ जनाले काम गरिराखेको भन्दै थप जनशक्ति थप्न आवश्यक नदेखिएको चर्चा गरे ।
पौडेलले भने, ‘सञ्चय कोषमा सञ्चयकर्ताहरुले कोषमाथि भरोसा गरेका हुन्छन् । कोषको सबैभन्दा ठूलो आधारमा र भविष्य भनेको सञ्चयकर्ताहरु नै हो । सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी प्रतिदिन विश्वासलाई बलियो बनाउँदै जाने गरी कोषले काम गर्नुपर्छ । सञ्चय कोषप्रति सञ्चयकर्ताको विश्वास र भरोसा नटुटोस् भन्ने कुरामा ख्याल गर्नुहोला । कोषले सञ्चयकर्तालाई निपेक्ष रहने तहमा होइन । सञ्चयकर्तालाई आकर्षित गर्नुस् । सञ्चयकर्तालाई आकर्षित गर्दा नोक्सानीको कोणबाट होइन । उपलब्धीको कोणबाट हेर्नुस् । तपाईहरुले सकेसम्म न्युन जनशक्तिबाट अधिकतम काम गर्नुस् । इफिसेन्ट जनशक्तिलाई लिएर काम गर्नुस् । तर नेपालमा रोजगारीको पनि आवश्यकता छ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका माध्यमबाट काम गरिरहेको छ । कर्मचारी सञ्चय कोष,बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम लिनुपर्छ । उक्त जनशक्तिलाई सेवा सुविधा,मर्यादा,इज्जत दिनुपर्छ । कर्मचारीले आफ्नो भविष्य त्यहाँ खोज्न सक्ने ढोका खोलिदिनुपर्छ । ५ सय दरबन्दीमा ३७१ ले काम गरिराख्नुभएको छ। कोषमा दरबन्दी धेरै भयो । ३७१ कर्मचारीले गर्नु भएकै छ । कोष ओएमएनमा जानुपर्छ । दरबन्दी आवश्यकता अनुसार घट्ने र बढ्ने गर्छ।’( न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया