‘संसदमा प्रश्न उठेपछि उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ’

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले उपसभामुखमाथि संसदमा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा उनले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाएको विषयमा सदनमा पटक–पटक प्रश्न उठेकाले उपसभामुखले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने बताए।

सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गराउँदै राजनीतिकर्मीमा त्यत्तिको साहस हुनुपर्छ भने। उनले भने, “राजीनामा गरेर छानबिनमा सहयोग गरेमा के फरक पर्छ? प्रश्न उठ्नु र जवाफदेहिताको माग गर्नु लोकतन्त्र विरोधी कुरा होइन। व्यक्तिको पदीय दायित्व र आचारणमाथि प्रश्न उठिसकेपछि त्यसलाई गलत प्रमाणित गर्न सक्नुपर्छ, सबैका निम्ति पारदर्शिता अपनाउन राजीनामा दिएर सहयोग गरे उपयुक्त हुन्छ।”

सांसद बास्कोटाले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा’ पूरा गर्ने दिशामा अगाडि बढेको भन्दै उनले आत्मनिर्भर अर्थतन्त्र, कृषिको आधुनिकीकरण र औद्योगिकीकरण प्राथमिकतामा रहेका बताए। साथै उनले नीतिगत सुधारका माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। रासस

प्रतिक्रिया