धर्मान्तरण विरुध्द विश्व हिन्दू महासंघले यही २८ गते प्रदर्शन गर्ने

काठमाडौं । विश्व हिन्दू महासंघले संविधान विपरित धर्मान्तरण गर्ने कार्य बढिरहेकोमा चिन्ता जनाउँदै त्यस विरुध्द प्रदर्शन गर्ने भएको छ ।

बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ८१ प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्बी र ९४ प्रतिशत भन्दा बढी ॐकार परिवार रहेको नेपालमा धर्मनिरपेक्ष राज्य घोषणापछि धर्मान्तरण गर्ने कार्य अभियानकै रुपमा सञ्चालन भैरहेको महासंघले जानकारी दिएको 1726050415531थियो ।

वर्तमान संविधान जारी भएदेखि नै महासंघले धर्मनिरपेक्ष भन्दै संविधानको चर्को विरोध गर्दै आएको थियो । हालै दुइ ठूला पार्टी मिलेर सरकार गठन गर्दा संविधान संशोधनको बिषय अगाडि सारिएकाले विगतका त्रुटीहरु सच्याउन महासंघ सुझाव र सल्लाह दिन तयार रहेको पनि बताइएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य धवल शमशेर राणाले नेपाललाई एकताको प्रतीकका रुपमा राजसंस्था र हिन्दू धर्म अनिवार्य पक्ष रहेको बताए । उनले विश्व हिन्दू महासंघले धर्मान्तरण विरुध्द आयोजना गरेका कार्यलाई आफ्नो दलको पूर्ण समर्थन र साथ रहेको पनि बताए ।

महासंघका अध्यक्ष अस्मिता भण्डारीले विश्वभरका सनातनीहरुको आस्थाको केन्द्र रहेको महासंघले सबैको विश्वास र साथ लिएर नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउने अभियान सञ्चालन गर्ने उद्घोष गरिन् । उनले धर्मान्तरण विरुध्द हुने प्रदर्शनहरुमा पनि देश र देशबाहिर रहेका सबैको समर्थन रहने विश्वास व्यक्त गरिन् ।

महासंघले यही भदौ २८ शुक्रबार अपरान्ह १ बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उपासना मिडिया ग्रूपका अध्यक्ष तथा वरिष्ठ समाजसेवी टंक बहादुर श्रेष्ठ, राप्रपाका नेता सगुनसुन्दर लावती, नेपाली कांग्रेस वीपी समूहका महामन्त्री, लगायत विभिन्न सनातनी संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया