चार गुटको भागबण्डा मिलेपछि कोशी सरकारमा गयो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको चार गुटमा भागबण्डा मिलेपछि उसका चारजना प्रतिनिधि कोशी प्रदेश सरकारमा सहभागी भएका छन् । सभापति देखि केन्द्रीय सदस्यसम्म भागबण्डा गरेपछिमात्र नेपाली कांग्रेसले तीन मन्त्री र एक राज्यमन्त्री कोशी प्रदेश सरकारमा पठाएको छ । कोइराला समूह पनि केही समयपछि सहभागी हुने सहमति भएको छ ।

सभापति शेर बहादुर देउवा, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले काखी च्यापेका नेताहरु मन्त्री बनेका छन् भने अर्का नेता शेखर कोइरालाको भागमा परेका दुइजना नेतालाई केही समयपछि हुने मन्त्रीमण्डल पुनर्गठनका बेला समावेश गरिने सहमति भएको छ । 

कांग्रेसको प्रदेश कार्यसमितिका महामन्त्री रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । सिटौलाले काखी च्यापेका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौलाकै चेला भनि चिनिएका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

सभापति देउवाकै किचेन क्याबिनेटका नेता मानिने केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले आफ्ना खास मान्छे भनेका खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति देउवा समूहका मानिन्छन् ।

साउनमै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस शेखर कोइरालाले २ जना आफ्ना मान्छेलाई मन्त्री बनाउनुपर्ने अडान राखेकाले सरकारमा जान ढिला गरिरहेको थियो ।

केही समयपछि पुनर्गठन गर्दा कोइराला पक्षका दुइजनालाई मन्त्री र राज्यमन्त्री बनाउने सहमति भएको कांग्रेस सूत्रले बताएको    छ ।

प्रतिक्रिया