समाचार टिप्पणी

देउवा किन रिटायरमेन्टको चिन्तामा परे

काठमाडौं । असी टेक्नैलागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब भने उमेरको ख्याल गर्न थालेको देखियो । ज्यातिषीको हवाला दिँदै सात पटकसम्म प्रधानमन्त्री हुने लक्ष्य राखेका देउवा राजनीतिमा आफ्नो उत्तराधिकारीको चिन्तामा   थिए । अब अवस्था त्यस्तो रहेन । 

पत्नी आरजु राणा देउवाले धेरै त्यागी तपस्वी र संघर्षशील नेताहरुलाई उछिनेर परराष्ट्र मन्त्रालयको बागडोर हातमा लिएपछि सभापति देउवालाई शान्ति मिलेको देखिन्छ । भारत भ्रमणको सन्देशले राजनीतिमा उनको पक्षमा राम्रै तरंग ल्याएको चर्चा राजधानीका वैठक कक्षहरुमा चलेकै छ ।

एकजना हेलिकोप्टर चालकको निवासमा भएको एमालेसँगको सहमति टुकुचाले बगाएन भने देउवा असी कटेपछि फेरि प्रधानमन्त्री बन्नेछन् । यो सम्भावना मात्र हो । राजनीतिमा जे पनि हुन्छ भन्ने उदाहरण माओवादी अध्यक्ष पुष्पकमल दाहालले पटक पटक प्रदर्शन गरिसकेका छन् र यसैको सिको गरेका ठूला दलले उनलाई पनि उत्तानोचित् पारिसकेका छन् ।

वालुवाटार पुगेका पूर्व प्रधानमन्त्री दाहाललाई साक्षी राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का पूर्व प्रधानमन्त्री देउवालाई जन्मदिनको शुभकामना दिँदै खादा पहिराईदिए । शिष्टाचार नै भएपनि यसको राजनीतिक सन्देश पनि छ भन्ने कुरा बुझ्न दाहाललाई धेरैबेर लागेन । उनीहरुबीच समसामयिक विषयमा छलफल भएपनि राजनीतिक स्थायित्व देशको आवश्यकता भएकाले माओवादीले केही समय धैय गर्नुपर्छ भनेर दाहाललाई सम्झाईएको सूत्रहरु बताउँछन् ।

सत्ताबाट बाहिर परेपछि देशदौडाहामा चक्कर लाएर काठमाडौं फर्किएका दाहाललाई त्यसरी सम्झाईएको थियो, जसरी नेपालका लागि भारतका पूर्व राजदूत रणजित रेले सुझाएका थिए ।

यता तीन दलका शीर्ष नेताबीच वालुवाटार वार्तापछि देउवाले आफू अवकासको मानसिकतामा पुगेको राजनीतिक जीवनमै पहिलोपल्ट चर्चा गरेका हुन् । एमालेसँगको सहमति अनुसार, पछिल्लो कार्यकालको सरकारको नेतृत्व गरेपछि सम्भवत देउवाले संसदीय निर्वाचनमा पनि भाग नलिने सम्भावना रहेको जानकारी सूत्रको भनाई छ । देउवा आफ्नो राजनीति र निर्वाचन क्षेत्र पत्नी र पुत्रलाई सुम्पिएर विश्राम लिने मनस्थितिमा त पुगेका होइनन् भनेर एक अनुभवी कुटनीतिज्ञले प्रश्नको शैलीमा आशंका व्यक्त गरेका छन् । तर यसको आधिकारिक सन्देश भने सार्वजनिक भएको छैन ।

सभापति देउवाले आफ्नो अवकास हुने समय आएको बताएर हिजो बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उनलाई सुन्न भेला भएका नेता कार्यकर्तालाई तरंगित तुल्याईदिएका थिए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले विभिन्न कारणले आफ्नो अवकासको समय आएको बताएका  थिए । तर ती के कारण हुन् जसले उनलाई यस्तो सोचाईमा पुर्यायो भन्ने चैं उनले खुलाएनन् ।

‘मेरो एज पनि गयो। हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,’ भन्दै देउवाले पार्टीको चिन्ता अब आउने नेताहरूले बढी गर्नुपर्ने बताए।

‘भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ । मैले भन्दा बढ्ता गर्नुपर्छ,’ उनले यसरी स्पष्ट पारे ।

देउवाले भोलिका दिन चुनौतीपूर्ण र अवसरले भरिएका रहने भन्दै नयाँ आउने नेताहरूलाई दुवैलाई मिलाएर अगाडि बढ्न सुझाव दिए ।    

‘चुनौतिको सामना गर्दै अवसरहरूलाई पनि बढी फाइदा लिँदै अझ बढी समन्वयात्मक रूपमा अगाडि बढाउँदै जानुपर्छ,’ उनले भने। ‘अहिलेदेखि नै लाग्नुस्। गाली गरेर हुनेवाला केही छैन। काम गरेर देखाउनुस्,’ देउवाले चुनौतिको शैलीमा भने।
 
कांग्रेस र एमालेको सत्ता समीकरण र डेढ वर्षपछि आफू प्रधानमन्त्री बन्ने सहमति भएपछि पार्टीभित्र उत्साह बढेको उनको भनाई छ ।  

(तस्बिर: प्रधानमन्त्री ओलीको फेसबूकबाट)


 

प्रतिक्रिया