सबै समुदायले स्वामित्व ग्रहण गर्ने गरी संविधान संशोधन गरौं: अध्यक्ष यादव

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै समुदायले स्वामित्व ग्रहण गर्ने गरी संविधान संशोधन गर्न सुझाव दिएका छन्।

संविधान दिवसको सन्दर्भमा अध्यक्ष यादवले संविधानको संशोधन, परिमार्जन र पुनर्लेखन गरी सङ्घीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन गरी संविधान सबै समुदायले स्वामित्व लिनसक्ने खालको हुनुपर्ने बताएका हुन्।

साथै उनले असोज ३ गते जनचेतनामूलक कार्यक्रमहरु गरिनुपर्ने धारणा राखेका छन्। अध्यक्ष यादवले संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिनुपर्ने भनाइ राखे।

संविधानमा सङ्घीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको उनको भनाइ छ।

अध्यक्ष यादवले भने, ‘‘संविधानले मधेशी, आदिवासी जनजाति, दलित/शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदायका साथै उत्पीडित जात/जाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न सकेको छैन।’’

प्रतिक्रिया