सुरु भयो सोह्र श्राद्ध

काठमाडौं । आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । यसलाई पितृ पक्ष पनि भनिन्छ ।

सोह्रश्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्धमा पितृतर्पण गर्ने कार्य सुरु भएको छ । बुधवार पूर्णिमा तिथि बिहान ८ बजेर ४३ मिनेटसम्म रहेको थियो । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मुल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधवार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैन । एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सत्य सनातन हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने विश्वास गरिन्छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने पनि विश्वास छ । 

प्रतिक्रिया