अबको १० वर्षपछि सरकारले वृद्धभत्ता दिनै सक्दैन: स्वास्थ्यमन्त्री

ललितपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्।

बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए। उनले अहिले समाजको मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको बताए।

उनले भने, ‘‘अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन। त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ। खाद्य स्वास्थ्यको मुख्य विषय हो। तर त्यो स्वास्थ्यसँग जोड्न सकिरहेको छैन । क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो ? हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ ? खाने वस्तु कस्तो छ र ? कति खाइरहेका छौँ ? चाहिने जति छ की, धेरै खाइरहेका छौँ, थोरै खाइरहेका छौँ की ? थोरै खानु पनि समस्या हो, धेरै खानु पनि समस्या हो।’’

मन्त्री पौडेलले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको उल्लेख गरे। उहाँले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताए। उनले यस्तै रूपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्षभन्दा माथिको सङ्ख्या बढी हुने दाबी गरे। खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको बताए।

उनले भने, ‘‘नेपालमा सबैभन्दा बढी २० वर्षभित्र ५० वर्षभन्दा माथिको सङ्ख्या बढी हुन्छ। त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन।’’

मन्त्री पौडेलले अस्पतालहरूले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको बताए। उनले देशमा कुनैपनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको बताए।

प्रतिक्रिया