हिंसा शब्दसँग क्रुध्द माओवादीले संसदको अवरोध नरोक्ने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदको अवरोध नरोक्ने चेतावनी दिएका छन् ।

दाहालले आफूहरुमाथि अरु दलले हत्या हिंसा गरेको भनेर लान्छना लगाईरहेकाले यो आरोप संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित भएकाले त्यसविरुध्द संसदको अवरोध जारी राख्ने बताए । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संसदबाट जबरजस्त आक्रमण गर्ने चेतावनी दिँदैप्रतिनिधि सभामा संख्यामा कमजोर भएपनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरुको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताए। 

एकदशक अवधि देशमा हिंसात्मक गतिविधि गरेको माओवादी केन्द्रका कमान्डर दाहाल त्यसको नेतृत्वमा  थिए । शान्ति सम्झौतामा हस्ताक्षर गरेपछिका पछिल्ला अवधिमा उनी पटक पटक प्रधानमन्त्री समेत भैसकेका छन् । भर्खरै सत्ताबाट हटाईएका दाहालले दुइ ठूला दलप्रतिको आक्रोश पोख्दै देशभर पार्टीका सभा र बैठकहरु आयोजना गर्दैआएका छन् । सत्तापक्षका केही नेताले माओवादीले विगतमा हिंसा मच्चाएको भनेर गरेको आलोचना सह्य नभएपछि दाहालले संसदमा प्रतिरोध गरिरहेका छन् । उनले कार्यकर्ताहरुलाई सान्त्वना दिँदै भनेका छन्, कमजोर छौँ भनेर हीन भावना नलिनु ।
 
दाहालले भने, ‘हामी अहिले प्रतिनिधि सभामा संख्यामा कमजोर नै छौँ । यो त दुनियाँले बुझेकै कुरा हो । तर हाम्रो विरासतको कारणले, हाम्रा मुद्दाका कारणले, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा हाम्रो बारेमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौँ । हामी कमजोर छौँ भनेर हिन भावना लिनु सही हुँदैन । सदनमा हेर्ने हो भने संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु हामीले असफल बनायौँ । हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित हामी सदन अवरोधको स्थितिमा छौँ । र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ । हामी छोड्दैनौँ । किनकि संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार छैन । हामीले यो कुरा प्रतिनिधि सभामा पनि जबरजस्त उठाएका छौँ । प्रतिनिधि सभामा नहुने साथीहरुले सडकबाट उठाइदिन   प¥यो ।’

अध्यक्ष दाहालले संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चालबाजीहरु आफूहरुले असफल बनाएको दावी पनि गरे ।

प्रतिक्रिया